बाढी प्रभावित क्षेत्रमा राष्ट्रपति पौडेलबाट अवलोकन

नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन् । साथै उनले यहाँ रहेका बाढी प्रभावित र पीडितसँग भेटघाट गरी उनीहरुको गुनासो समेत सुनेका छन् ।

उनले नुवाकोटमा भोटेकोशीमा आएको बाढीको प्रभाव एवम् त्यसबाट सृजित क्षतिको जिल्ला सुरक्षा समितिबाट जानकारी लिए । उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितका समितिका सदस्यले रसुवा बाढीले जिल्लामा पुर्‍याएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गरेका थिए । साथै, प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढी पीडितको खोज, उद्धार, राहत, पुनरस्थापना तथा तत्काल निर्माणका सम्बन्धमा भईरहेका कामबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराए ।

सो क्रममा राष्ट्रपति पौडेलले नुवाकोटस्थित बाढी प्रभावित रहेको होल्डिङ सेन्टरको समेत अवलोकन गरे । राष्ट्रपति पौडेलले आजै बाढी प्रभावित क्षेत्रमध्ये नुवाकोटको त्रिशुलीमा रहेको नेपाली सेनाको क्याम्प तथा रसुवा बाढीप्रभावित क्षेत्रको पनि अवलोकन गरेका छन् ।

प्रकाशित मिति : २०८३ भाद्र २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस