मानव अधिकार आयोगले सरकारलाई बुझायो प्राथमिकताको सूची

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले वर्तमान सरकारले मानवअधिकारको क्षेत्रमा तत्काल चाल्नुपर्ने कदम र प्राथमिकताका विषयहरू समेटेर सरकारलाई सुझाव पेस गरेको छ। आयोगले नेपालको संविधान, प्रचलित कानुन र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि–महासन्धिअनुसारका दायित्वहरू कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार वैशाख २५ गते पठाइएको उक्त पत्रमा सरकारले प्राथमिकता दिनुपर्ने विभिन्न महत्वपूर्ण कार्यहरू उल्लेख गरिएको छ। आयोगले विशेष गरी मौलिक हकको कार्यान्वयन, कानुनी सुधारका प्रक्रियाहरू र लामो समयदेखि टुङ्गोमा पुग्न नसकेको सङ्क्रमणकालीन न्यायको विषयलाई मुख्य प्राथमिकतामा राख्न आग्रह गरेको छ।

यसका साथै मानवअधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना, विकास र मानवअधिकारबीचको अन्तरसम्बन्ध तथा अन्तर्राष्ट्रिय मानवअधिकार संयन्त्रहरूबाट प्राप्त भएका सुझावहरूको कार्यान्वयनबारे पनि पत्रमा विस्तृत रूपमा चर्चा गरिएको छ। आयोगले आफ्नो संस्थागत सुदृढीकरणका साथै निर्वाचन, सार्वजनिक सेवा प्रवाह र मानवअधिकारका विविध पक्षमा गरिनुपर्ने सुधारका कार्यहरूलाई पनि सिफारिसमा समेटेको छ।

प्रकाशित मिति : २०८३ बैशाख २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस