काठमाडौं। सरकारले विद्यालय तथा उच्च शिक्षामा भर्ना प्रक्रिया अघि सञ्चालन हुँदै आएका ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षामाथि पूर्ण रोक लगाउने निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार सार्वजनिक गरेको निर्णयअनुसार २०८३ साल वैशाख १ गतेदेखि देशभर यस्ता कुनै पनि कार्यक्रम सञ्चालन गर्न पाइने छैन । यो निर्णय मन्त्रीस्तरबाट चैत १३ गते नै गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो समय निजी संस्थाहरूले भर्ना लक्षित गरी सञ्चालन गर्दै आएका ब्रिज कोर्स र इन्ट्रान्स तयारी कक्षाले विद्यार्थीमा अनावश्यक प्रतिस्पर्धा र मानसिक दबाब सिर्जना गरेको निष्कर्ष निकालिएको छ । यस्ता कक्षाले शिक्षामा समान पहुँचमा बाधा पुर्याउनुका साथै आर्थिक रूपमा कमजोर अभिभावकमाथि थप बोझ पार्ने गरेको पनि उल्लेख गरिएको छ ।
सरकारले औपचारिक शिक्षाबाहिर हुने यस्ता तयारी कक्षाले शिक्षाको मूल उद्देश्य नै प्रभावित भएको भन्दै नियन्त्रण आवश्यक देखिएको जनाएको छ । यस निर्णयसँगै अब विद्यालय वा कलेज भर्नाअघि हुने तयारी कक्षा सञ्चालन पूर्ण रूपमा गैरकानुनी हुनेछ ।
मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई यस सम्बन्धमा कडाइका साथ अनुगमन गर्न निर्देशन दिएको छ । यस्ता कक्षा सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
यो निर्णयले शिक्षा क्षेत्रमा चल्दै आएको ‘ब्रिज कोर्स संस्कृति’ अन्त्य गर्ने सरकारको प्रयासका रूपमा हेरिएको छ, जसले अब भर्ना प्रक्रिया थप समान र दबाबरहित हुने अपेक्षा गरिएको छ ।




