भान्छाको ‘तेजपत्ता’: स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान

सामान्यतया हामी तेजपत्तालाई एउटा सुगन्धित मसलाका रूपमा मात्र चिन्छौँ, जसले तरकारी वा पुलाउको स्वाद बढाउँछ। तर, प्राकृतिक गुणले भरिपूर्ण तेजपत्ता सौन्दर्य निखारका लागि पनि उत्तिकै प्रभावकारी मानिन्छ। छाला (त्वचा) र कपालको समस्या समाधानमा यसको प्रयोग निकै लाभदायक हुन्छ।

तेजपत्तालाई सौन्दर्यका लागि निम्न ५ तरिकाले प्रयोग गर्न सकिन्छ:

१. अनुहारका काला दाग हटाउन
यदि तपाईंको अनुहारमा डण्डीफोर वा अन्य कारणले काला दागहरू बसेका छन् भने तेजपत्ता निकै सहयोगी हुन्छ। यसका लागि तेजपत्तालाई पानीमा राम्ररी उमाल्ने र उक्त पानीले नियमित अनुहार धुने गर्नाले छाला सफा हुनुका साथै दागहरू बिस्तारै हराउँदै जान्छन्।

२. घामबाट डढेको छालाको सुरक्षा
कडा घामका कारण छाला डढ्ने वा छालाको रङ्ग असमान हुने समस्या छ भने तेजपत्ताको पानी प्रयोग गर्न सकिन्छ। यसले छालालाई प्राकृतिक शीतलता प्रदान गर्नुका साथै रङ्गमा एकरूपता ल्याउन मद्दत गर्छ।

३. रेशमी र चमकदार कपालका लागि
कपालको प्राकृतिक चमक हराएको छ वा खस्रो भएको छ भने तेजपत्ताको पानीले कपाल धुने गर्नुहोस्। यसको नियमित प्रयोगले कपाललाई नरम, मुलायम र चमकदार बनाउन मद्दत गर्छ।

४. छालाको पोषण र सफाइ
तेजपत्ताको पातलाई पिसेर लेप बनाउने र त्यसमा दही मिसाएर अनुहार तथा शरीरमा लगाउनाले छालाको गहिरो सफाइ हुन्छ। यसले छालालाई आवश्यक पोषण प्रदान गरी प्राकृतिक रूपमै चम्किलो बनाउँछ।

५. बलियो र सेतो दाँतका लागि
तेजपत्ता दाँतको चमकका लागि पनि अचुक औषधि हो। तेजपत्तालाई घाममा सुकाएर धुलो बनाउने र उक्त धुलोले दाँत माझ्ने गर्नाले दाँतको पहेलोपना हट्छ। यसले दाँतलाई मजबुत बनाउनुका साथै मुस्कानमा चमक थप्छ।

प्रकाशित मिति : २०८२ फाल्गुन १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस