सल्यान शोकमा : भारतमा ग्यास सिलिन्डर विष्फोटमा परी दुई परिवारका ९ नेपालीको मृत्यु

सल्यान । भारतमा भएको ग्यास सिलिन्डर विष्फोटमा परी मृत्यु हुने सबै व्यक्ति सल्यान जिल्लाका एउटै गाउँका रहेको पुष्टि भएको छ। रोजगारीका लागि भारत पुगेका सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका नौ जनाको सो दुर्घटनामा ज्यान गएको गाउँपालिका अध्यक्ष भरत गिरीले जानकारी दिएका छन्।

मृत्यु हुनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा, १० वर्षीया छोरी रेणुका र २२ महिनाको छोरा राजन रहेका छन्। त्यसैगरी अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु र ७ वर्षीय छोरा किरणको पनि मृत्यु भएको छ। यी दुवै परिवार करिब दुई वर्षदेखि रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका थिए।

मंगलबार बिहान भारतको हिमाचल प्रदेशस्थित सोलन जिल्लाको अर्की बजार क्षेत्रमा ग्यास सिलिन्डर विष्फोटपछि भएको भीषण आगलागीमा उनीहरूको मृत्यु भएको हो। प्रारम्भिक जानकारीअनुसार सुतिरहेको अवस्थामा कोठाभित्र खाना पकाउन प्रयोग गरिने ग्यास सिलिन्डर अचानक विष्फोट भएको बुझिएको छ।

दुर्घटनापछि स्थानीय प्रशासन र सुरक्षाकर्मीले उद्धार तथा खोजी कार्य सञ्चालन गरेका थिए। तर आगलागी अत्यन्त तीव्र भएका कारण पीडितहरूलाई जोगाउन सकिएन। घटनाले सल्यानसहित स्थानीय क्षेत्रलाई शोकमा डुबाएको छ भने मृतक परिवारका आफन्त र गाउँमा रुवाबासी चलेको छ।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित मिति : २०८२ पुष २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस