संसद् पुनःस्थापनाको पक्षमा देउवासहित शीर्ष नेताहरूले नै गरेका छैनन् हस्ताक्षर

संसद् पुनःस्थापनाको पक्षमा विघटित प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेसका शीर्ष नेताहरूले नै हस्ताक्षर नगरेको पाइएको छ ।

नेपाली कांग्रेसले संसद् पुनःस्थापनाको मागसहित सर्वोच्चमा रिट दर्ता गराएको छ । विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्याम घिमिरे तथा सचेतक सुशीला थिङसहित ८ जनाको हस्ताक्षरमा रिट दर्ता गरिएको हो ।

अहिले कांग्रेसले पूरक निवेदन लैजाने तयारी गरिरहेको छ । जसमा ६८ जना कांग्रेस सांसदले हस्ताक्षर गरेका प्रमुख सचेतक घिमिरेले जानकारी दिए ।

यद्यपि कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले संसद् पुनःस्थापनाको पक्षमा हस्ताक्षर गरेका छैनन् ।

यस्तै उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले पनि हस्ताक्षर गरेका छैनन् भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि हस्ताक्षर नगरेका कांग्रेस स्रोतले बतायो ।

उनीहरू बाहेक नेता शेखर कोइराला र निवर्तमान परराष्ट्रमन्त्री तथा केन्द्रीय सदस्य आरजु राणा देउवाले पनि हस्ताक्षर गरेका छैनन् ।

विघटित प्रतिनिधिसभाका सांसदहरू हृदयराम थानी, तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेल, सांसदहरू सञ्जय गौतम, कुसुम थापा मगरले पनि हस्ताक्षर गरेका छैनन् ।

सपना राजभण्डारी, लिला बोखिम, सीता मिजार, मुक्ता यादव, प्रतिमा गौतम, उदय शमशेर राणाले पनि हस्ताक्षर नगरेका कांग्रेस स्रोतले बतायो । ‘समयको मागलाई सम्बोधन गर्दै मैले हस्ताक्षर गरिनँ,’ हृदयराम थानीले लोकान्तरसँग भने ।

यस्तै सञ्जय गौतमले पनि अहिलेको निकास नै चुनाव भएकाले आफूले संसद् पुनःस्थापनाको पक्षमा हस्ताक्षर नगरेको जानकारी दिए ।

प्रकाशित मिति : २०८२ पुष ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस