खरिद सम्बन्धी कानुनहरु संसोधन गर्न आवश्यक छः सह सचिव सुवेदी

सार्वजनिक खरिद अनुगमन कार्यालयका सह सचिव रामबन्धु सुवेदीले ठेक्का तोड्दा बाँकी कामलाई आवश्यक पर्ने रकम सम्बन्धीत कम्पनीबाटै सरकारी बाँकी सरह असुल गर्ने व्यवस्था हटाउनुपर्ने बताए । यसमा कार्यालय सकरात्मक भएको उनले बताए ।

नेपाल पुर्वाधार पत्रकार समाजले नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । यसलाई व्यवहारिक रुपमा संसोधन गर्न आवश्यक रहेको उनले बताए ।

यस्तै, सार्वजनिक खरिद ऐन र नियमावलीलाई समय सापेक्षा रुपमा धेरै संसोधन र सुधार गर्न आवश्यक रहेको उनले बताए । कार्यान्वयनको क्रममा ऐन र नियमावली संसोधन गर्नुपर्ने आवश्यकताको अनुभुति भएको उनको भनाइ छ । यस्तै, ठेक्का रद्द गर्ने प्रावधान बस्तुगत बनाउनुपर्ने देखिएको उनले बताए । यसै गरि ठेक्कामा न्यून रकम कबुल गर्नेलाई निरुत्साहित नै गर्न खोजीएको उनले बताए । यद्यपि, यसमा थ्रेसहोल्ड नै तोक्नुपर्ने उनको भनाइ छ ।

यसैगरि भेरिएसन सम्बन्धी निर्णय गर्ने अधिकार परियोजना मै दिनुपर्नेमा कार्यालय सकरात्मक रहेको उनले बताए ।

यसै गरि जेभीमा सानो कम्पनीले गरेको गल्तीको कारण ठूला कम्पनी मर्कामा परेको पनि उनले बताए । तसर्थ, जेभी ठेक्कालाई बस्तुगत बनाउन आवश्यक रहेको पनि उनले बताए ।

ठेक्का व्यवस्थापन गर्न नसरक्दा पनि ठेक्का रुग्ण हुने गरेको उनले बताए । कतिपय परियोजनाले एक पटक पनि म्याद थप नगरि कालोसुची राख्न सिफारिस गरेको पनि बताए । निर्माण व्यवसायीलाई काम गर्न पर्याप्त समय दिनुपर्ने उनले बताए । यस्तै, म्याद थपको बिषयमा स्पष्ट मार्गदर्शन आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति : २०८२ मङ्सिर २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस