नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो दलको सक्रियताका कारण अन्य राजनीतिक दलहरूमा पनि ऊर्जा थपिएको बताएका छन् । सोमबार बसेको पार्टीको जनपरिचालन समितिको बैठकलाई सम्बोधन गर्दै उनले ‘जति राजनीतिक गतिविधि बढ्छन्, त्यति नै अराजकता घटने’ तर्क गरे ।
मुलुकमा हाल देश बनाउने शक्ति र देश जलाउने प्रवृत्तिबीच ध्रुवीकरण भएको ज्ञवालीको टिप्पणी छ । ‘एमालेका कारण अरू दललाई पनि ऊर्जा थपिएको छ । एमालेलाई जस दिनु र नदिनु फरक कुरा हो,’ उनले भने, ‘जति राजनीतिक गतिविधि बढ्छन्, त्यति देशमा अराजकता घट्छ । एमाले फेरि लयमा फर्किएको छ ।’
बैठकमा बागमती प्रदेश इन्चार्ज तथा जनपरिचालन समितिका सचिव डा. राजन भट्टराईले २७ भदौदेखि सुरु हुने एमालेको महाधिवेशनको उद्घाटन सत्र तथा जनसभालाई ऐतिहासिक बनाउने तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी दिए ।
उनका अनुसार आजको बैठकले पालिका र वडा तहसम्म व्यापक जनसहभागिता सुनिश्चित गर्ने उद्देश्यले विस्तृत जनपरिचालन कार्य योजना पारित गरेको छ ।
एमालेले महाधिवेशनको उद्घाटन सत्रलाई सफल बनाउन आगामी दिनहरूमा जनपरिचालन अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने जनाएको छ ।


