जिम गर्नुअघि यी स्वास्थ्य परीक्षण गराउनु होस्, घट्छ हृदयघातको जोखिम

काठमाडौं– युवा–पुस्तामात्र होइन, अहिले हरेक उमेर समुहका मानिसहरुमा जिमप्रतिको क्रेज बढ्दो छ । टिनएजरदेखि अधवैँशे उमरका युवा–युवतीदेखि महिला तथा पुरुषहरु अहिले बिहानदेखि साँझसम्म जिमशालामा घाइरहेको देखिन्छ ।

आफूलाई फिट एण्ड फाइन राख्नका लागि जिम गर्नु स्वस्थ्यकर मानिन्छ । अझ, प्रशिक्षकको मार्ग निर्देशन अनुसार जिम गर्नु अझ प्रभावकारी मानिन्छ । यद्यपि, पछिल्लो समय जिम गरिरहँदा कम उमेरमै हृदयघात अथवा कार्डियाक अरेस्टका घटनाहरु समेत बढिरहेको पाइएको छ ।

त्यसैले स्वास्थ्य विशेषज्ञहरूले जिम प्रारम्भ गर्नुअघि अनिवार्य रूपमा केही स्वास्थ्य परीक्षण गर्नुपर्ने सुझाव दिएका छन् । यी परीक्षणहरूले हृदयको अवस्था मूल्याङ्कन गर्न मद्दत गर्ने तथा आकस्मिक जोखिम घटाउने उनीहरुको भनाइ छ ।

जिम गर्न थाल्नुअघि गराउनु पर्ने ५ महत्त्वपूर्ण स्वास्थ्य परीक्षणहरू
१. ईसीजीः मुटुको विद्युत गतिविधि तथा लयको मूल्याङ्कन
२. इको कार्डियोग्रामः मुटुको संरचना र कार्यको मूल्याङ्कन
३. ट्रेड मिल टेस्टः शारीरिक तनावको समयमा मुटुको प्रतिक्रिया परीक्षण
४. हाई सेन्सिटिभ ट्रोपोनिन र एनटी प्रोबीएनपीः मौन हृदय तनाव वा सूजन पहिचान गर्ने रक्त परीक्षण
५. लिपिड प्रोफाइल, कोलेस्ट्रोल र लामो अवधिको रक्त चिनीको स्तर मापन ।

विशेष गरी ३० वर्ष भन्दा माथिका मानिसमा मधुमेह, उच्च रक्तचाप अथवा परिवारमा हृदय रोगको इतिहास भएका व्यक्तिहरूका लागि यी परीक्षणहरू अत्यन्त आवश्यक मानिन्छन् ।

फिटनेस गर्दा ध्यान दिनुपर्ने सुझावहरू

जिम थाल्नुगर्नु अघि चिकित्सकसँग स्वास्थ्य परीक्षण र परामर्श लिनुहोस् ।
कम्तीमा ५–१० मिनेट वार्म–अप र स्ट्रेचिङ गर्न नबिर्सनु होस् ।
व्यायाम गर्दा सही टेक्निक र मुद्रा अपनाउनु होस् ।
प्रारम्भमा हल्का वजन र कम इन्टेन्सिटीबाट अभ्यास प्रारम्भ गर्नुहोस् ।
पर्याप्त पानी, प्रोटिन, कार्बोहाइड्रेट र भिटामिनयुक्त आहार लिनुहोस् ।
पर्याप्त निद्रा र विश्राम दिनुहोस्, मांसपेशीलाई रिकभरीको समय दिनुहोस् ।
छाती दुखाइ, अस्वाभाविक थकान वा पाखुरा दुखेमा तुरुन्त व्यायाम रोक्नुस् र चिकित्सकसँग सम्पर्क गर्नुहोस् ।

प्रकाशित मिति : २०८२ भाद्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस