सरकारको निर्देशन अनुसार नेपाल टेलिकमले पनि दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ ।
टेलिकमले बिहीबार एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार दर्ता नभएका प्लेटफर्महरू बन्द गरेको जनाएको हो ।
‘नेपाल दूरसञ्चार प्राधिकरणको मिति २०८२–०५–१९, च.नं. ५९७ को पत्रबाट श्री सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषदको निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन यस कम्पनीलाई लेखी आएकाले सोही निर्देशन बमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू हालका लागि बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ,’ टेलिकमले भनेको छ ।
टेलिकमका अनुसार ती प्लेटफर्महरू पुनः सञ्चालनमा ल्याउने विषय आगामी दिनमा प्राधिकरणबाट प्राप्त हुने निर्देशन अनुसार हुनेछ ।
यसैगरी मोबाइल र इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलले पनि आफ्नो मोबाइल डाटाबाट सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू नचल्ने जानकारी गराएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै यसबाट पर्न सक्ने असुविधाप्रति क्षमा समेत मागेको छ ।
सरकारले सूचीकृत हुन नआएका २६ वटा सामाजिक सञ्जाल प्ल्याटफर्महरूलाई रोक लगाउने निर्णय गरेको हो ।
एनसेलले सरकारको निर्देशन बमोजिम सञ्जालहरू नचल्ने जानकारी गराएको हो ।
यता इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले पनि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु आफ्नो तर्फबाट निस्किृय बनाइएको जनाएको छ ।
वर्ल्ड लिंकले सरकारको आग्रहअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरिएको बताएको छ ।
वर्ल्ड लिंकले आज शुक्रबार बिहान एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशनबमोजिम नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू स बन्द गरिएको जनाएको हो ।
‘नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० अनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु नियमन गर्नका लागि हाम्रो कम्पनीलाई निर्देशन प्राप्त भएको छ,’ वर्ल्ड लिंकले जारी गरेको सूचनामा भनिएको छ,’ यसअनुसार वर्ल्ड लिंकको इन्टरनेट सेवामार्फत नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु अब प्रयोग गर्न नसकिने जानकारी गराउँछौँ ।’


