लुम्बिनीका युवा क्रिकेटर नगदसहित सम्मानित

लुम्बिनी प्रदेश खेलकुद परिषदले एसीसी मेन्स यु–१६ इस्टर्न जोन कप विजेता नेपाली युवा क्रिकेट टोलीका सदस्य शुभम खनाल (दाङ), रौनक श्रीवास्तव (कपिलवस्तु) र सहायक प्रशिक्षक सञ्जु क्षेत्री (दाङ) लाई नगदसहित सम्मान गरेको छ। परिषदका सदस्य सचिव तिरनदाज गौतमका अनुसार, खनाल र श्रीवास्तवलाई जनही १ लाख र क्षेत्रीलाई ५० हजार नगद प्रदान गरिएको छ।

बिहीबार राप्ती उपत्यका, देउखुरीमा एक कार्यक्रम आयोजना गरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको नाम उँचो बनाएका यी खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको हो। रौनक श्रीवास्तव प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनेका थिए भने शुभम खनालले कसिलो बलिङमार्फत विपक्षी टोलीलाई दबाबमा राखेका थिए। सहायक प्रशिक्षक क्षेत्रीले खेलाडीको मनोबल उच्च राख्न महत्वपूर्ण भूमिका खेलेका थिए। परिषदका सदस्य कैलाश रोका मगरले यी तीनै जनाले लुम्बिनीको पहिचान उजागर गर्न योगदान दिएको बताए।

नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँले खेलाडी र प्रशिक्षकको सम्मानले क्रिकेट विकासमा सकारात्मक सन्देश गएको बताए। खेलाडी खनालले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै उपाधि जित्नु गर्वको विषय भएको र यसले थप जिम्मेवारी बोध गराएको बताए।

रौनक श्रीवास्तवले प्रतियोगितामा १ शतक र १ अर्धशतकसहित २९६ रन बनाएर सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेका थिए। शुभम खनालले १२ विकेट लिएका थिए। गत असार ८ देखि मलेसियामा भएको प्रतियोगितामा नेपालले सिङ्गापुरलाई २ विकेटले हराउँदै उपाधि जितेको थियो। मलेसिया, सिङ्गापुर, इन्डोनेसिया, भूटान, जापान, हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार सहभागी यो प्रतियोगितामा नेपालले २०१७, २०१९ र २०२३ मा पनि उपाधि जितेको थियो।

प्रकाशित मिति : २०८२ असार २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस