बजेट ल्याउन चुकेपछि बजेट तर्जुमा तथा कार्यक्रम समितिले गरायो बालेनको ध्यानाकर्षण

काठमाडौं । ६ मध्ये पाँच महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि निर्धारित समय (असार १०) मै बजेट ल्याए पनि काठमाडौं महानगरपालिका भने निर्धारित मितिमा बजेट ल्याउन चुकेको छ । यससँगै बजेट तर्जुमा तथा कार्यकम समितिले मेयर बालेन्द्र (बालेन) शाहको ध्यानाकर्षण गराएको छ ।

मंगलबार राति अनौपचारिक बसेको बजेट तर्जुमा समितिले मेयर शाहलाई अझै पनि बजेट ल्याउने विषयमा बेवास्ता नगर्न र गम्भीर बन्न ध्यानाकर्षण गराउने निर्णय गरेको हो । साथै बुधबार औपचारिक रुपमा शाहलाई ध्यानाकर्षण गराएको समितिले जनाएको छ ।

मेयरले आफ्नो नेतृत्वको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बस्न समेत पहल नगरेपछि काठमाडौं महानगर समयमा बजेट ल्याउनबाट चुकेको आरोप बजेट तर्जुमा समितिले लगाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले काठमाडौं टावरको तला थप्न स्वीकृत दिएको आरोप लगाएर मेयर शाहले कार्यालय प्रवेशमै रोक लगाएका थिए । त्यसपछि विवाद चुलिएको हो ।

संघीय सरकारले प्रमुख शासकीय अधिकृतलाई अन्यत्रै सरुवा नगरी काठमाडौंमै राखेसँगै बालेन र संघीय सरकारबीच यतिबेला ‘इगो’को लडाइँ छ ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट सीमा निर्धारण नहुँदा महानगरपालिकाद्धारा सञ्चालित विकास निर्माण, कर्मचारीको पारिश्रमिक, जेष्ठ नागरिकले प्राप्त गर्ने भत्ता, तथा काठमाडौं महानगरपालिकाको फोहोरमैला संकलन तथा विर्सजनमा समेत साउन १ गतेबाट बजेट अभावले प्रत्यक्ष असर पर्ने छ ।

अनौपचारिक बैठकमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ ले आगामी आर्थिक वर्षको राजश्व र व्यय (बजेट) अुनमान कार्यापालिकाबाट स्वीकृत गराई असार १० गते भित्र नगरसभामा पेश गर्नुपर्ने कानुनी व्यवस्था गरेकोमा ऐनले तोकेको उक्त समयसीमाको पालना नगरेको सम्वन्धमा पनि गम्भीर समीक्षा गरिएको छ ।

बजेट तर्जुमा समितिको संयोजक उपप्रमुख सुनिता डंगोल छिन् । सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत सरोज गरागाईँ, सूचना प्रविधि समितिका संयोजक नविन मानन्धर, रावश्व समितिका संयोजक नवराज पराजुली, वित्त समितिका संयोजक ईश्वरमान डंगोल, सुशासन समितिका संयोजक ख्याम तिवारी छन् ।

यसैगरी सामाजिक समितिका संयोजक रामकुमार केसी, वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, भवन व्यवस्थापन समितिका संयोजक हिरालाल तण्डुकार, शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जन, विधायन समितिका संयोजक मचाराजा महर्जन, कृषि तथा पशुपंक्षी तथा सहकारी व्यवस्थापन समितिका संयाजक रामजी भण्डारी, विपद् समितिका संयोजक प्रेम थापा र सुमित्रा लामिछाने सदस्य सचिव छन् ।

प्रकाशित मिति : २०८२ असार ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस