राजेन्द्र लिङ्देन र कोमल ओली ‘कमेडी दरबार’को मञ्चमा

काठमाडौं– पछिल्लो समयको सर्वाधिक चर्चामा रहेको कमेडी शो ‘कमेडी दरबार’मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा एमाले केन्द्रीय सदस्य कोमल ओली एकसाथ पाहुनाको रूपमा पुगेका छन् ।

आज मङ्गलवार ‘कमेडी दरबार’ को सुट भएको थियो । जहाँ राजेन्द्र लिङ्देन र कोमल ओलीलाई एकै साथ देख्दा उपस्थित दर्शकहरूले पनि निकै मनोरञ्जन लिएका थिए । पछिल्लो समय राप्रपाले गर्दै आएको राजावादी आन्दोलन सँगसँगै कोमल ओली राप्रपाबाट एमालेमा प्रवेश भएसँगैका विषयहरू एपिसोडमा रमाइलो ढङ्गबाट प्रस्तुत गरिएको छ ।

पछिल्लो समयको लोकप्रिय शोमा आफू पाहुना भएर आउन पाउँदा खुसी लागेको राजेन्द्र लिंगदेनले बताएका छन् । साथै उनले नेताहरूलाई रमाइलो ढंगबाट गरेको व्यङ्ग्यसंगै कलाकारहरूको प्रस्तुति उत्कृष्ट लागेको बताए ।

कलाकार तथा नेत्री कोमल ओलीले ‘कमेडी दरबार’ पहिलेदेखि नै हेर्दै आएको र आज आफूमाथि नै व्यङ्ग्य भएको देख्दा अझ आफूलाई रमाइलो लागेको बताइन् ।

आजको एपिसोडमा सुन्दर खनाल पूर्व राजा ज्ञानेन्द्र शाह बनेर प्रस्तुत भएका छन् भने कमेडियन खबपु चञ्चल मगर राजेन्द्र लिङ्देनको अवतारमा पुगेका छन् । यसैगरी पवन खतिवडा म्याकुरी कोमल ओली बनेर पुगेका छन् । श्रद्धा प्रसाईँले निर्देशन गर्दै आएको सो बिक्कि अगरवाल र सजिना खनालले होस्ट गरिरहेका छन्।

शोमा उत्सव सापकोटा, हिमेश पन्त, पवन खतिवडा, सुजिता श्रेष्ठ, सुन्दर खनाल, बिटी कान्छा, विकाश अर्याल, सरोज भण्डारी, पवित्रा शाकी (मिस पवि), पवन खतिवडा (म्याकुरी) ले प्रस्तुति दिँदै आएका छन् । यस पटकको भागमा ऋितिज केसी र खबपु मगर गेस्ट कमेडीयनको रूपमा थिए। शोको विकाश अर्याल र सरोज भण्डारी स्किष्ट राइटर हुन् ।

शोमा महाराजाको रूपमा मनोज गजुरेल र महारानीको रूपमा गौरी मल्ल रहँदै आएका छन् । अहिले केही भागका लागी फिल्म निर्देशक प्रदीप भट्टराई महाराजाको रूपमा छन् । सो आगामी शुक्रवार प्राइम टेलिभिजन र ओएसआर रियालिटी युट्युब मार्फत प्रसारण हुनेछ।

प्रकाशित मिति : २०८२ असार १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस