दाङमा राष्ट्रिय परिचयपत्र बनाउँछन्, तर लिन आउँँदैनन्

घोराही । दोहोरो नागरिकता लिने प्रवृत्ति रोकेर नागरिकको व्यक्तिगत विवरण एकै ठाउँमा राख्न सकिने फोटो सहितको बायोमेट्रिक स्मार्ट कार्ड बनाउन मानिसहरुले जति दौडधुप गर्छन्, बनिसकेका कार्ड लिन भने नआएको पाइएको छ । छापिएर आएकामध्ये आधाभन्दा धेरै कार्ड राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय दाङमा स्थापना भएको स्टेशनमा थन्किएका छन् । दाङमा २०७७ देखि परिचयपत्र बनाउन शुरु गरिएको थियो । चार वर्षयता छापिएका कुल ४० हजार तीन सय ५० राष्ट्रिय परिचयपत्रमध्ये २१ हजार सात सय ५० वटा कार्ड जिल्ला प्रशासन कार्यालयमा थन्किएका हुन् । अरु १८ हजार छ सय कार्डमात्रै सम्बन्धित नागरिकले लगेको राष्ट्रिय परिचयपत्र स्टेशन अपरेटर दुर्गाबहादुर बस्नेतले जानकारी दिनुभयो ।

छापिएर आउनै १८ महिना गुजारेका ती कार्ड साढे दुई वर्षदेखि थन्किएका छन् । शुरुमै आएका कार्डहरु पनि वितरण भइसकेका छैनन् भने अरु थपिदै जाँदा प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र थुप्रिदै गएका छन् । सरकारले राहदानीलगायतका सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गराएपछि लाइन लागेर बनाइएका ती कार्ड लिन भने सम्बन्धित व्यक्ति नआएको प्रशासनले जनाएको छ । यसको मुख्य कारण राज्यका सेवा लिन तत्काललाई राष्ट्रिय परिचयपत्र नम्बरमात्रै भए हुने व्यवस्थाले नागरिकहरुले नम्बर राखेर कार्डको बेवास्ता गरेको पाइएको हो ।

‘धेरैजसोले परिचयपत्र नम्बरले पनि काम गरिरहेका छन् । अर्को कुरा त्यही नम्बरले राहदानी बनाएर ठूलो युवा जनशक्ति विदेश पुगेको छ’– सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले भन्नुभयो– ‘छापिएको स्मार्ट कार्ड लिन स्वयं व्यक्ति नै आउनुपर्ने र उसको वायोमेट्रिक पुनः लिनुपर्ने भएकाले कार्डहरु प्रशासनमै थुप्रिदै जाने अवस्था आएको हो ।’ हुन पनि परिचय पत्रको विवरण रजिष्टर गरेको झण्डै १८ महिनापछिमात्रै कार्ड छापिएर आउने समस्या छ । कार्ड छापिएर आउन ढिलाइ हुँदा स्वदेशमै रहेको व्यक्तिले पनि परिचयपत्र खोज्न छोडेको देखिएको छ तर परिचयपत्र लिएर सुरक्षित गर्न जिल्ला प्रशासन कार्यालय दाङले सबैमा आग्रह गरेको छ । ‘यो स्मार्ट कार्ड बहुउपयोगी बनाउने उद्देश्य सरकारको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस