विद्युत कार्यालयको डिजिटल बोर्डमा प्रधानमन्त्रीबिरुद्ध गाली लेखिएपछि …

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि हातपात हुनुका साथै उनको कार्यकक्षमा तोडफोड भएको छ। कार्यालयमा राखिएको डिजिटल बोर्डमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध गालीगलोजपूर्ण सन्देश आएपछि युवासंघ कार्यकर्ताले श्रेष्ठमाथि हातपात गरेका हुन्।

केन्द्रले जारी गरेको विज्ञप्तिअनुसार मंगलबार बिहान १० बजेको समयमा ३५/४० जनाको समूह वितरण केन्द्रमा प्रवेश गरी कार्यालय प्रमुख श्रेष्ठलाई कुटपिट गर्नुका साथै कार्यकक्ष तोडफोड गरेका थिए।

त्यस्तै, केन्द्रले कार्यालयको डिजिटल सूचना बोर्डमा एक्कासि सूचना ह्याक गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवैध किसिमको गाली गलोजरअपशब्द अपलोड गरिएकोमा पनि भर्त्सना गरेको छ। ‘देशको गरिमामय पदमा रहनु भएका प्रधानमन्त्रीलाई अपमानजन्य सूचना अपडेट गराउनु राज्यको संविधान तथा प्रचलित कानुनको बर्खिलाप हो । यस्तो गैरकानुनी कार्यप्रति नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र परिवार घोरभर्त्सना गर्दछ,’ केन्द्रले जारी गरेको विज्ञप्तिमा छ।

उक्त घटनाको सत्यतथ्य छानबिन गरी उक्त कार्यमा संलग्न व्यक्तिलाई कानुनको दायरामा ल्याई कारबाही गर्न केन्द्रले माग समेत गरेको छ।

प्रधानमन्त्री ओलीविरुद्ध सूचना प्रकाशन भएको विषयमा ज्ञापनपत्र बुझाउन नेकपा एमाले निकट राष्ट्रिय युवा संघका कार्यकर्ता वितरण केन्द्र पुगेका थिए।

त्यस क्रममा कार्यालय प्रमुख श्रेष्ठले आफूहरूमाथि गलत व्यवहार प्रदर्शन गरेको भन्दै आक्रोशित युवा संघका कार्यकर्ताले उनीमाथि हातपात गर्नुका साथै कार्यकक्ष तोडफोड गरेका थिए। युवा संघ चितवनका इन्चार्ज शंकर अधिकारीले कार्यालय प्रमुख श्रेष्ठकै गलत व्यवहारले तोडफोडको अवस्था सिर्जना भएको बताए।

प्रधानमन्त्रीविरुद्ध वितरण केन्द्रको सूचना बोर्डमा देखिएको अमर्यादित सूचनाका बारेमा प्रजिअ प्रकाश पौडेलले केन्द्र प्रमुख श्रेष्ठलाई स्पष्टीकरण सोधेका छन्। प्रजिअ पौडेलले श्रेष्ठलाई घटनाको यथार्थ विवरणसहित २४ घण्टाभित्र जानकारी पेस गर्न भनिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस