राजदूत वाणिज्यदूतले गरे समृद्धिका लागि विश्व शान्तिको अपील

लुम्बिनी । विश्वका २० मुलुकका राजदूत र ४५ देशका वाणिज्यदुतहरुले शुक्रबार गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धिका लागि विश्वशान्तिको लागि आह्वान गर्नु भएको छ ।

परराष्ट्र मन्त्रालय र अवैतनिक वाणिज्य दुतहरुको संस्था अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन)ले संयुक्त रुपमा आयोजना गरेको लुम्बिनी कन्क्लेभमा उहाँहरुले शान्ति विना समृद्धि सम्भव नहुने भन्दै सबै देशलाई शान्तिका लागि आग्रह गर्नु भएको हो ।

विभिन्न देशबाट नेपाल आउनु भएको राजदुतहरुले लुम्बिनी परिसरमा विश्व शान्तिका लागि प्रार्थना समेत गर्नु भयो ।

मायादेवी मन्दिर परिसरमा विश्व शान्तिका लागि प्रार्थना गरेका गर्दै उनीहरूले बुद्धजन्मस्थल लुम्बिनीबाट समृद्धिका लागि विश्वशान्ति अपरिहार्य भएको सन्देश दिएका छन् । नेपालमा वैदेशिक लगानी भित्र्याउन सरकारले वातावरण बनाएको सन्देश पनि उनीहरूले विश्वभर प्रवाह गरेका एचसिसीएनका पदाधिकारीले बताएका छन् ।

नेपाललाई लगानी गन्तव्यका रुपमा चिनाउन आगामी महिना लगानी सम्मेलन आयोजना हुँदैछ । नेपालमा विदेशी लगानी भित्र्याउने अवसरको रुपमा शुक्रबार सम्पन्न समृद्धिका लागि विश्व शान्ति सम्मेलन फलदायी हुने अपेक्षा उनीहरूको छ ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्नुभएको उक्त सम्मेलनमा शान्ति, समृद्धि र आर्थिक विकासका विषयमा घनीभूत छलफल भएको थियो । त्यस क्रममा लगानी बोर्डका अधिकारीले नेपालमा लगानीका अवसर र आसन्न लगानी सम्मेलनका बारेमा जानकारी दिएका थिए । कृषि, ऊर्जा, पर्यटन पूर्वाधार, उद्योगलगायत क्षेत्रमा गरिने लगानीबाट मनग्ये प्रतिफल प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न आह्वान गरिएको थियो ।

एचसिसीएनका प्रमुख विष्णुकुमार अग्रवाल, उपप्रमुख चन्द्रप्रसाद ढकालले शान्ति र समृद्धिबीचको सम्बन्धलाई आत्मसात् गर्दै नेपालमा लगानी बढाउन आग्रह गर्नुभएको थियो । उहाँहरूले विश्व शान्तिको केन्द्र भगवान्को बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित सम्मेलन शान्तिपूर्ण र समृद्ध विश्व बनाउने आधारशिला निर्माणमा उपयोगी भएको विश्वास व्यक्त गर्दै आफ्नो देशका लगानीकर्तालाई नेपाल आकर्षक गन्तव्य भएको जानकारी दिन आग्रह गर्नुभएको थियो ।

सम्मेलनमा अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मङ्गोलिया, इन्डोनेसिया, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लात्भिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिकका गैरआवासीय राजदूत सहभागी थिए ।

एचसीसीएनले नेपाल सरकार र सम्बन्धित मुलुकबीच पुलको रुपमा काम गर्नुका साथै प्रविधि स्थानान्तरण, व्यापार व्यवसाय विस्तारलाई विस्तार गर्न भूमिका निर्वाह गर्दै आएको छ ।

प्रकाशित मिति : २०८० चैत्र १० गते शनिवार
प्रतिक्रिया दिनुहोस