धोनीले आईपीएलको लिग चरणको अन्तिम खेलबाट सन्न्यास लिने!

चेन्नई सुपर किङ्सका पूर्वकप्तान महेन्द्र सिंह धोनीको लागि यो सिजन अन्तिम आईपीएल हुनसक्छ ।

उनले सबैलाई चकित पार्दै प्रतियोगिता सुरू हुनुभन्दा एक दिनअघि कप्तानी छोडेका छन् । उद्घाटन समारोहअघि कप्तानको फोटोसुटमा उनको स्थानमा क्लबको कप्तानको रूपमा रूतुराज गायकवाड पुगेका थिए।

आईपीएल व्यवस्थापनले यो सिजन धोनीको स्थानमा गायकवाडले कप्तानी गर्ने पुष्टि गरेको छ ।

कप्तानी छोडे पनि धोनीले खेल्ने क्रम जारी राख्नेछन् । तर, ४२ वर्षीय धोनीको यो अन्तिम आईपीएल सिजन हुन सक्ने अनुमान गरिएको छ ।

धोनीले भनेका थिए– अन्तिम खेल चेपौकमा खेल्नेछु
धोनीले गत सिजन आफैंले करियरको अन्तिम खेल चेन्नईको घरेलु मैदान चेपौकमा खेल्ने बताएका थिए ।

गत सिजन चेन्नईले आफ्नो अन्तिम खेल गुजरातको नरेन्द्र मोदी स्टेडियममा खेलेको थियो । जुन प्रतियोगिताको फाइनल पनि थियो । चेन्नईले जित्यो तर, चेपौकमा खेल नभएको कारण धोनीले अर्को एक सिजन टोलीसँग रहने निर्णय गरे ।

अब चेन्नईले प्रतियोगिताको पहिलो खेल चेपौकमा खेल्नेछ । खेल आरसीबीसँग हुनेछ, जुन धोनीको करियरको अन्तिम आईपीएल खेल पनि हुन सक्छ। तर, डेभोन कोनवेको चोटपछि धोनीले अब केही थप खेल खेल्न सक्नेछन् ।

न्युजिल्यान्डका कोनवेले पछिल्लो २ सिजनदेखि क्लबबाट ओपनिङ गर्दै आएका छन् र उनी निकै सफल ओपनर हुन्।

प्रतियोगिता सुरू हुनुअघि नै घाइते भएका उनी अब वैशाखको पहिलो सातासम्म मैदानमा फर्कन सक्ने छैनन् ।

कोनवे ब्याटिङसँगै विकेटकिपिङ पनि गर्छन् र धोनी पनि विकेटकिपर ब्याट्सम्यान हुन्। यसको मतलब, यदि कोनवे फिट रहेको भए क्लबलाई विकेटकिपिङका लागि धोनीको आवश्यकता पर्ने थिएन ।

धोनीले लिग चरणको अन्तिम खेलबाट पनि सन्यास लिन सकिने सम्भावना छ ।

अहिलेको अवस्था हेर्दा धोनीले चेपौक रंगशालामा हुने लिग चरणको अन्तिम खेलसँगै क्रिकेटलाई अलविदा गर्ने सम्भावना छ ।

चेपौकमा अन्तिम खेल कहिले हुन्छ, पूर्ण तालिका सार्वजनिक भएपछि मात्र खुल्नेछ ।

प्रकाशित मिति : २०८० चैत्र ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस