तुलसीपुरमा नाप नक्साङ्कन तीब्र पार्न थपिदै जनशक्ति

तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकाले सुकुम्बासी,अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्साङ्कनको कामलाई तीब्र पार्न जनशक्ति थप गर्ने भएको छ । चौधौँ नगर सभाले जनशक्ति थप गर्ने निर्णय गरेको छ । आयोगबाट पठाइएको जनशक्तिले हालसम्म एउटा वडाको काम समेत सम्पन्न गर्न नसकेपछि सभाले १९ वटै वडाको कामलाई छिटो छरितोरुपमा सम्पन्न गर्नका लागि जनशक्ति थप गर्ने निर्णय गरेको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६मा ४५ बिगाह क्षेत्रफल जग्गाको नाप नक्साङ्कनको काम सम्पन्न भएको छ । यही गतिमा काम भए वर्षौ समय लाग्ने भएपछि सभाबाट थप जनशक्ति व्यवस्थापन गरेर काम अघि बढाउने निर्णय गरिएको नगरप्रमुख टीकाराम खड्काले बताउनुभयो । सभाले नगर प्रहरी ऐन संशोधन गरी भर्नाका लागि समेत बजेट सुनिश्चित गरेको छ ।

सभामा नगरप्रमुख टीकाराम खड्काले दलित शसक्तीकरण ऐन कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । उहाँले ऐन कार्यान्वयनका लागि समितिलाई पूर्णता र बजेटको व्यवस्थापन गरिएको बताउनुभयो ।
आर्थिक विकास समितिका संयोजक माधव वलीले आर्थिक ऐन संशोधन गरी राजस्व संकलनको दायरा बढाइएको बताउनुभयो । सभामा संयोजक वलीले आर्थिक, पर्यटन,उद्यमको क्षेत्रमा नयाँपन दिलाउन खोजिएको बताउनुभयो । उहाँले नव उद्यमी प्रोत्साहन, उद्यमी केन्द्र सञ्चालनका लागि बजेट सुनिश्चिता गर्दै कार्यान्वयनमा ल्याउन थालिएको बताउनुभयो ।

सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले शिक्षा क्षेत्रमा क्रमश सुधार गर्दै लगिएको बताउनुभयो । उहाँले कक्षा १देखि ८सम्म स्थानीय पाठ्यक्रम निर्माण र कक्षा ४देखि आठसम्म पाठ्यपुस्तक निर्माण गरी कार्यान्वयनमा लगिएको बताउनुभयो । संयोजक रावतले विगतमा विद्यार्थी संख्या कम भए गाभिएका विद्यालयमा समेत विद्यार्थी संख्या बढाएर सञ्चालन गरिएको बताउनुभयो । सभामा विधायन समितिका संयोजक भीमबहादुर कँवरले तुलसीपुर उपमहानगरपालिकाको खानेपानी तथा सरसफाई व्यवस्थापन ऐन पारित गरिएको बताउनुभयो ।

ऐन पारित भएसँगै तुलसीपुर क्षेत्रमा खानेपानी बोर्ड गठन,व्यवस्थापन हुने भएको छ । संयोजक कुवरका अनुसार अहिलेसम्म एक सय ६१ वटा ऐन कानुन निर्माण गरेको छ । संयोजक कुवरका अनुसार आर्थिक वर्ष २०८०÷८१मा पर्यटन विकास कार्यविधि,तुलसीपुर उपमहानगरपालिकाको कर्मचारी व्यवस्थापन मापदण्ड,एकिकृत डाटा व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि समेत पारित गरिएको गरिएको छ ।

विपद् तथा वनवातावरण समितिका संयोजक दुजमान भण्डारीले बजार क्षेत्रमा सौन्दर्यकरण,गल्ने फोहोरबाट कम्पोष्ट मल उत्पादन सुरु गरिएको बताउनुभयो । उहाँले प्लास्टिकजन्य वस्तुबाट नयाँ सामग्री उत्पादनका लागि उद्यमी समूहमार्फत् काम बढाइएको बताउनुभयो ।

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस