आज राती चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । आज राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ।

आइतबार र सोमबार देशभर साधारणतया बदली रहनेछ। आइतबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थान, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।

साथै गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

सोमबार पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थान र कोशी तथा बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भारी वर्षा तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस