राम बहादुर बम्जन पक्राउ

काठमाडौँ । विवादित पृष्ठभूमि भएका ‘तपश्वी’ राम बहादुर बम्जन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यका अनुसार, विशेष सूचनाका आधारमा बम्जनको हात्तीगौंडामा रहेको घरमा प्रहरी टोली पुगेको थियो । त्यसक्रममा उनलाई घरबाट पक्राउ गरिएको उनले बताइन् ।

स्रोतका अनुसार, बम्जनको श्रीमतीलाई प्रहरीले ट्रयाक गरिरहेको थियो । एक महिनाअघि उनको बच्चा जन्मिएको थाहा पाएपछि खोजीलाई तीब्र पारिएको थियो । त्यही आधारमा खटिएको प्रहरी टोलीले उनलाई घरबाट पक्राउ गरेको हो ।

आज उनलाई बुढानिलकण्ठबाट पक्राउ गरेको सिआइबी प्रमुख बज्राचार्यले जानकारी दिइन् । ‘केही समयअघि उनी त्यहाँ छन् भन्ने सूचना प्राप्त भएको थियो। हामीले निगरानी बढाएका थियौं। आज पक्राउ गरेर ल्याइएको छ’, उनले भनिन्।

उनीमाथि यौन शोषण, बलात्कार र आनीहरूलाई बेपत्ता बनाएको आरोप लागेको थियो। उनीविरूद्ध पाँच परिवारले उजुरी दिएका थिए। आफ्नो आश्रममा बस्दै आएका तीन जना युवती र दुई युवालाई बेपत्ता पारेको उजुरी विभिन्न प्रहरी कार्यालयमा दर्ता भएको थियो। तीमध्ये एक जनालाई उनले सिन्धुपाल्चोकस्थित आश्रममा हत्या गरी शवसम्म बेपत्ता पारेको थियो।

उनीविरूद्ध गंगामायाले बलात्कारको जाहेरी दिएकी थिइन्। सर्लाही जिल्ला अदालतमा उक्त मुद्दा विचाराधीन छ। उनीमाथि आश्रममा बस्ने युवती र युवकहरू बेपत्ता पारेको भन्दै उजुरी परेका थिए।

प्रकाशित मिति : २०८० पुष २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस