धनगढी — कैलालीमा अनुमति नलिइ अवैध रुपमा मेडिकल र क्लिनिक सञ्चालन गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । अनुमति नलिएका, सिफारिस गर्न नमिल्ने औषधि बिक्री, क्लिनिक सञ्चालनका सामान्य मापदण्ड पनि पूरा नगरेका गैरकानुनी रूपमा चिकित्सकीय सेवाको दुरुपयोग गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
औषधि व्यवस्था विभाग नेपालगन्जका फार्मेसी अधिकृत दीपेन्द्रकुमार शाह र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्याल नेतृत्वको टोलीले सोमबार २ र बिहीबार ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा धनगगढी उपमहानगरपालिका(३, बोराडाँडीस्थित अर्जुन क्लिनिकका सञ्चालक अर्जुन कुँवर, देवरीयाकी २१ वर्षीया कमला बोहरा, एभरेस्ट मेडिकलका सञ्चालक अमर चौधरी, मानवी फार्मेसीका सञ्चालक नवीन धामी, फारवेस्ट प्याथलोजीका सञ्चालक दीपक महरा र रेस्मी क्लिनिकका सञ्चालक गोरखबहादुर श्रेष्ठ रहेका छन् ।


