घोराहीमा ‘माघ महोत्सव’ हुने

तुलसीपुर । दाङको घोराहीमा माघ महोत्सव हुने भएको छ । थारु कल्याणकारिणीसभा दाङको आयोजनामा जिल्ला समन्वय समिति घोराहीमा यही पुस २२ र २३ गते माघ महोत्सव हुन लागेको हो ।

‘आर्थिक जागरण व, सांस्कृतिक रुपान्तरण हमार अभियान, सामाजिक न्यायसहितको समृद्धिम हमार योगदान’ भन्ने नारासहित आयोजनामा हुन गइरहेको महोत्सवको तयारीलाई तीव्र बनाइएको थारु कल्याणकारीसभा दाङका सभापति भुवन चौधरीले जानकारी दिए । त्यस्तै महोत्विलाई भब्यरुपमा सम्पन्न गर्न स्वंयसेवक परिचालन कमिटी गठन गरिएको छ । महोत्सव मूल आयोजक समितिको भेलाले थारु कल्याणकारिणीसभा दाङका सदस्य अशोक चौधरीको संयोजकत्वमा एक सय २१ सदस्यीय स्वयंसेवक परिचालन समिति गठन गरिएको चौधरीले जानकारी दिए ।

यसैगरी ११ स्वयंसेवक परिचालन उपसमिति र महोत्सव प्रचारप्रसार समिति पनि गठन गरिएको छ । अन्य महोत्सवभन्दा पृथक र नयाँपन दिनुपर्ने भएकाले यो फरक भएको अध्यक्ष चौधरीले बताए । उनले थारु समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारको सुनिश्चिताका लागि महोत्सवमार्फत घोराहीमा थारु समुदायको सशक्त उपस्थिति रहने बताए ।

दुई दिनेसम्म सञ्चालन हुने महोत्सवमा मघौटा, छोक्रा, हुर्डुङ्यालगायत चार दर्जनभन्दा बढी नाच प्रस्तुत हुने महोत्सव मूल आयोजक समितिले जनाएको छ ।

यस्तै थारु समुदायको परम्परागत हस्तकला, काष्ठकला, दर्जनौँ थारु भाषाका पुस्तक प्रदर्शनीका लागि राखिने उनले बताए । यस्तै थारु परिकार ढिक्री, घोङ्गी, माछा, गँगटालगायत परिकारसमेत बिक्री वितरणका लागि राखिनेछ ।

प्रकाशित मिति : २०७९ पुष १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस