भारतमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि असर पर्ने

काठमाडौं । भारतमा चार महिनापछि पेट्रोल, डिजल र खाना पकाउने ग्याँसको मूल्य वृद्धि भएको छ । भारतबाटै नेपालमा इन्धन आयात हुने भएकाले त्यसको असर नेपालमा पनि पर्ने अनुमान छ ।

भारतका पाँच राज्यमा विधानसभा निर्वाचन सकिएलगत्तै मूल्य वृद्धि गरिएपछि संसददेखि सामाजिक सन्जालसम्म सरकारको विरोध भइरहेको छ ।

भारत सरकारले मंगलबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा ८० पैसा प्रतिलिटरको दरले मूल्य बढाएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ५० रुपैयाँ बढाइएको छ ।

हरेक १५–१५ दिनमा भारतले पठाएको मूल्य अनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन हुने भएकाले त्यसको असर नेपालमा पनि पर्ने गरेको छ । नेपाल आयल निगमले पछिल्लो पटक २ चैतमा पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ५–५ रुपैयाँले मूल्यवृद्धि गरेको थियो । यस वृद्धि अनुसार हाल पेट्रोल एक लिटरको मूल्य १५५ रुपैयाँ पर्छ भने डिजल र मट्टीतेलको १३८ रुपैयाँ पर्छ ।

यसै महिना अन्तर्राष्ट्रिय बजारमा कच्च तेलको मूल्य अत्यधिक बढेर १३ वर्षयताकै महँगो रेकर्ड कायम गरेको थियो । यद्यपि अहिले १४० डलर प्रतिब्यारेल मूल्यमा केही कमी आएर ११८.५९ डलर प्रतिब्यारेल कायम छ ।

नेपालमा भारतीय आयल कर्पोरेसनले पठाउने मूल्य सूची अनुसार महिनामा दुई पटक स्वचालित प्रणाली अनुसार मूल्य घटबढ हुँदै आएको छ । रुस–युक्रेन युद्धपछि लगातार मूल्यवृद्धि हुँदा उपभोक्ताहरु मर्कामा परेका छन् ।

प्रकाशित मिति : २०७८ चैत्र ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस