तोप्पापानीमा औइरिए दीर्घरोगीहरु

बिजौरी । तुलसीपुर उपमहानगरपालिका—१९ कुटेचौरकी पुष्पा थापा विरामीको पर्चा कटाउन एकाविहानै नजिकैको तोप्पापानी स्वास्थ्य चौकी पुगेकी छिन् । पुष्पाकै भनाइमा उनको घाँटीमा पटक पटक श्वास रोकिन्छ रे ।

श्वास फेर्न असजिलो, हातखुट्टा झमझमाउने लगायतका समस्या रहेछन् । मोवाइलमा आएको फेसबुकको सूचनाले पुष्पालाई स्वास्थ्य चौकी डोर्यायो । ‘ठुला डाक्टर आउँछन् भनेर यहाँ आएकी हुँ राम्रै उपचार हुन्छ कि भनेर’, पुष्पाको आशा थियो ।

कमला थापा पनि लाइनमै थिइन्, पुष्पाकै छिमेकी । उनलाई पनि लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याले सताइरहन्छन् । ‘स्वास्थ्य चौकीमा सधैं भेटिने डाक्टरको औषधिले छुदै छोएन, त्यसैले विशेषज्ञ डाक्टर आउने खबरले यहाँ आएकी हुँ’,कमलाले पत्रकारसँग भनिन् ।

तुलसीपुर सिटी अस्पतालले शनिबार तुलसीपुर उपमहानगरपालिकाको तोप्पापानी स्वास्थ्य चौकीमा आयोजना गरेको विशेषज्ञ चिकित्सकको सेवा सहितको निशुल्क स्वास्थ्य शिविरमा पुष्पा र कमलाजस्तै छिल्लीकोटबाट समेत विरामी झरेका थिए, स्वास्थ्य परीक्षणका लागि ।

‘अहिले त केही भा’छैन, दुई वर्ष अघि प्रेसरले हान्दा दाया खुट्टातिर झमझमाइ रहन्छ’, कुटेचौरकै अर्का विरामीले उपचारका लागि त्यहाँ पुगेका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. हेमराज शर्मालाई बताइरहेका थिए । हाडजोर्नीका अधिकांश विरामीको समस्यानै हातखुट्टा झमझमाउने, कम्मर दुख्ने र घुडा बेस्सरी दुख्ने । डा. शर्माले धेरै विरामीलाई गह्रौ भारी नबोक्न सुझाइरहेका थिए । तर सडकको सहज पहुँच समेत नभएको त्यो क्षेत्रमा भारी नबोकि गुजारा चलाउन मुस्किल जस्तै थियो ।

शनिबार दिनभरी तुलसीपुर सिटी अस्पतालका विशेषज्ञ चिकित्सकहरुले कम्तिमा ३ सय स्थानीय विरामीहरुको स्वास्थ्य परीक्षण गरे । धेरै विरामीहरु दीर्घरोगीहरु रहेको आयोजक तुलसीपुर सिटी अस्पतालले जनाएको छ । शिविरमा औषधि निशुल्क वितरण गरिएको थियो भने युरिक एसिड, सुगर तथा सिविसी लगायतका प्रयोगशाला परीक्षण पनि निशुल्क उपलव्ध गराइएको थियो । थप उपचार सेवा चाहिनेलाई सुविधा भएका स्वास्थ्य संस्थामा जान पनि चिकित्सकहरुले सिफारिस गरिरहेका थिए ।

शिविरमा इन्टरनल मेडिसिन विशेषज्ञ डा. रेशम गौतम, हाडजोर्नी रोग विशेषज्ञ डा. हेमराज शर्मा, स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा. शेखर थापा, नाक, कान, घाँटी रोग विशेषज्ञ डा. सन्जय महर्जन, कन्सल्टेन्ट रेडिओलोजिष्ट डा. बसन्त रेग्मी तथा छाला तथा यौनरोग विशेषज्ञ डा. समीर श्रेष्ठले चेकजाँच गरेका थिए । शिविरमा अन्य मेडिकल अफिसर तथा स्टाफ नर्स र हेल्थ असिस्टेन्सहरुले पनि सेवा प्रदान गरेका थिए ।

तुलसीपुर सिटी अस्पतालको आयोजनामा भएको शिविरमा सहयोगी भूमिकामा रोटरी क्लव अफ तुलसीपुर र रोट्रयाक क्लव अफ तुलसीपुरका दर्जन बढी युवाहरुको पनि प्रत्यक्ष सहयोग रहेको थियो ।

शिविर सुरु हुनु अघि अस्पतालका अध्यक्ष विमल रिजालको अध्यक्षतामा एक औपचारिक कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिका—१९ का वडाध्यक्ष राम बहादुर योगीले उपमहानगरपालिका भएर पनि पिछडिएको यो बस्तीमा बेला बेलामा यस्ता विशेषज्ञ स्वास्थ्य शिविरहरु आवश्यक रहेको भन्दै आयोजक तुलसीपुर सिटी अस्पताललाई धन्यवाद दिएका थिए ।

रोट्रयाक क्लव अफ तुलसीपुरका अध्यक्ष तथा तुलसीपुर सिटी अस्पतालका व्यवस्थापक हेमराज बस्नेतले विषय प्रवेश गराएको स्वास्थ्य शिविरमा स्वास्थ्य चौकी प्रमुख गोविन्द पार्धे, बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगी, तुलसीपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष देव वहादुर केसी, रोटरी क्लव अफ तुलसीपुरका पूर्व अध्यक्ष कुशल तर्ताल, रोटरीयन ललित घर्तीलगायतले स्वास्थ्य शिविरको सफलताको कामना गरेका थिए ।

कार्यक्रमको सहजीकरण रोट्रयाक क्लव अफ तुलसीपुरका महासचिव इनुप भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस