रोल्पामा बस दुर्घटना : मृतक चारमध्ये तीन जनाको सनाखत


रोल्पा-
रोल्पामा बस दुर्घटनामा परी मृत्यु हुने तीन जनाको सनाखत भएको छ भने एक जना महिलाको अझै सनाखत हुन सकेको छैन् । मृत्यु हुनेहरुमा बस चालक रोल्पा परिर्वतन गाउँपालिका वडा नम्बर ५ का ४० वर्षिय बिरमान बुढा, परिवर्तन गाउँपालिका वडा नम्बर ६ का ५० वर्षिय कुमार पुन र वडा नम्बर १ का २९ वर्षिय दिपक रोका रहनु भएको छ । मृतक एक महिलाको अझै सनाखत हुन नसकेको रोल्पाका प्रहरी प्रवक्ता कृष्ण रानाले जानकारी दिनुभयो ।

दाङको घोराहीबाट छुटेको यात्रुबहाक बस बिहाबार साँझ ६ बजेतिर रोल्पामा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो । थवाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको बस दुर्घटनामा परेको हो ।

बस शहिद मार्ग अन्तर्गत माडी गाउँपालिका वडा २ जलजलामा दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । रोल्पाको परिवर्तन गाउँपालिका -२ राङसी निवासी २१ वर्षिय अनिता बोहरा गम्भिर घाइते हुनुभएको छ । उहाँलाई रोल्पामा सामान्य उपचारपछि जिल्ला बाहिर रिफर गरिएको प्रवक्ता रानाले जानकारी दिनुभयो ।

दाङको घोराही उपमहानगरपालिका १३ डुम्मर गाउँका १० वर्षीय एनवर्ष रोका, सोही ठाउँकै २५ वर्षिय आशा बोहरा, सोही ठाउँकै १६ वर्षिय किरण घर्ती मगर घाइते हुनुभएको छ । यसैगरी घोराही १३ का ६२ वर्षिय विष्णुकुमारी रोका मगर, सोही ठाउँकै २८ वर्षिय निर्मला रोका, सोही ठाउँकै उषा बोहरा, सोही ठाउँकै १३ वर्षिय सिदन बोहरा, सोही ठाउँकै २५ वर्षिय बिमला रोका मगर घाइते भएको प्रहरीले जनाएको छ ।

यस्तै रोल्पाको परिवर्तन ६ का १६ वर्षिय सुरज पुन, सोहि ठाउँकै २१ वर्षका भिमकुमारी पुन, सोहि ठाउँकै ३७ वर्षिय तेजबहादुर पुन, परिवर्तन गाउँपालिका ५ का ३४ वर्षिय कर्मराज रोका, सोही ठाउँकै २१ वर्षिय हर्कमान रोका, सोही गाउँपालिकाको २ नम्बर राङसी २६ वर्षिय बिमा बुढामगर , २८ वर्षिय अनिता बुढामगर, परिवर्तन-५ का ३२ वर्षिय बिनोद वली, थवाङ ३ का १२ वर्षिय कबिता बुढामगर र त्रिवेणी गाउँपालिका वडा नम्बर ५ बुढागाउ २४ वर्षिय घनी घर्ती घाइते भएको प्रहरी प्रवक्ता रानाले जानकारी दिनुभयो । घाइतेमध्ये १० जनाको जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस