किवानिज क्लब लर्ड बुद्धको अध्यक्षमा सुशीला शाह

तुलसीपुर । किवानिज क्लब अफ लर्ड बुद्ध तुलसीपुर, दाङको वर्ष २०२६/२७ का लागि अध्यक्षमा सुशीला शाह चयन भएकी छन्। क्लबको पद हस्तान्तरण कार्यक्रमका अवसरमा वर्ष २०२५/२६ का अध्यक्ष दामोदर बस्नेत ‘राकेश’ले सोमवार शाहलाई पद हस्तान्तरण गरेका हुन्।

कार्यक्रम वर्ष २०२५/२६ का अध्यक्ष बस्नेतको अध्यक्षता तथा बबई गाउँपालिकाकी उपाध्यक्ष बमकुमारी खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा किवानिज क्लब नेपाल डिभिजन–५ का इलेक्ट गभर्नर बंशीकुमार शर्माले किवानिज बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था भएको बताए। सन् २०१५ देखि नेपालमा सक्रिय यस संस्थाले १८ वर्षमुनिका बालबालिकाको शिक्षा, स्वास्थ्य, खेलकुद तथा नेतृत्व विकासका क्षेत्रमा सहयोग गर्दै आएको उनले जानकारी दिए।

स्थापनाकालदेखि नै विश्वभर बालबालिकाको हित र उनीहरूको सर्वाङ्गीण विकासका लागि काम गर्दै आएको किवानिजले नेपालमा पनि सोही उद्देश्यअनुसार विभिन्न सामाजिक गतिविधि सञ्चालन गरिरहेको शर्माले बताए। बालबालिकाको भविष्य सुरक्षित र उज्ज्वल बनाउन यस्ता संस्थाको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।

कार्यक्रमकी प्रमुख अतिथि बबई गाउँपालिकाकी उपाध्यक्ष बमकुमारी खड्काले किवानिज क्लबले बालबालिकाको क्षेत्रमा गर्दै आएका गतिविधिको प्रशंसा गर्दै स्थानीय तहका तर्फबाट पनि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्। बालबालिकाको शिक्षा, स्वास्थ्य र नेतृत्व विकासमा लगानी गर्न सके भविष्यमा सक्षम नागरिक निर्माण गर्न सकिने उनले बताइन्।

कार्यक्रममा बाल नेत्र बिशेषज्ञ निकिता केसीले आखाको वारेमा प्रशिक्षिण दिएकी थिइन । त्यसैगरी किवानिज क्लब वेस्ट नेपालका विनोद शर्मा र सुजन शाह, रोजका डिल्ली डाँगी, बबई क्लबका रामबहादुर डाँगी, सरयुगङ्गा क्लबकी सपना भण्डारी, तुलसीपुर मेट्रोका हेमराज डाँगी र आशिष केसी, एभरेस्ट क्लबकी गङ्गा ओली, राप्ती क्लबका श्रीमणि न्यौपाने तथा शान्ति पार्कका अध्यक्ष डिल्लीराज भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

त्यसैगरी गोरखा आवासीय विद्यालय तुलसीपुरका पूर्णविक्रम डाँगी, गोरखा माध्यमिक विद्यालयका संस्थापक डोरबहादुर जिसीलगायतले बालबालिकाको क्षमता विकास, सामाजिक सेवाको विस्तार तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउन संस्थाहरूबीच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए। पत्रकार सुनील पोखरेललगायतले पनि नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

कार्यक्रममा बालबालिकाले नृत्य प्रस्तुत गरेका थिए। सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

नवनियुक्त अध्यक्ष सुशीला शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पदम ओलीले गरेका थिए। पद हस्तान्तरणसँगै क्लबले आगामी कार्यकालमा बालबालिकाको शिक्षा, स्वास्थ्य, खेलकुद र नेतृत्व विकासका क्षेत्रमा आफ्ना गतिविधिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ असोज २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस