कांग्रेसको मतदान : एकजनाले २३ मतपत्रमा मतदान गर्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । १५ औं महाधिवेशन अन्तर्गत विहीबार गर्ने भनिएको मतदान तयारी नपुगेको भन्दै आजका लागि सारिएको हो ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले केन्द्रीय कार्यसमिति चयनका लागि आज शुक्रबार बिहान ७ बजेबाट मतदान सुरू हुने जानकारी दिएका छन् । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले आवश्यक तयारी सबै सकिए पनि साँझमा मतदान सुरू गर्दा रातभर मतदातालाई अप्ठ्यारो पर्ने भएकाले शुक्रबार बिहानदेखि थाल्ने निर्णय भएको बताए ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले पनि ‘मिडिया ब्रिफिङ’मा खराब मौसम र प्राविधिक कारणसँगै ढिला मतदान सुरू गर्दा रातिको समयमा मतदातालाई कठिन हुने भएकाले शुक्रबार बिहान ७ बजेदेखि मात्रै मतदान थाल्ने निर्णयमा पुगेको जानकारी दिए ।

एक जनाले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने छ । मतदान स्थल निर्माणमा सहभागीले दिएको जानकारी अनुसार एक जनालाई मतदान गर्न करिब ३० मिनेट लाग्ने अनुमान छ ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार महाधिवेशन प्रतिनिधिहरु ७ हजार ३१७ छन् । निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतपेटिकाहरू संकलन गरेर ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा लगेर गणना सुरु गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस