बिजौरी । तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका बासिन्दाको प्रमुख आम्दानीको स्रोत सुगन्धकोकिला (मालागेडी) मा यस वर्ष ठूलो नोक्सानी भएको छ । विश्वमै लोपोन्मुख मानिएको यस वनस्पतिबाट बर्सेनि करोडौं रुपैयाँ आम्दानी हुने गरे पनि यसपालि सुगन्धकोकिला पाक्नैलाग्दा आएको अत्याधिक हावाहुरीले स्थानीयले लाखौं–करोडौं रुपैया गुमाएका छन् ।
छिल्लीकोटका करिब दश गाउँका सय भन्दा बढी घरपरिवार सुगन्धकोकिला खेती तथा संकलनबाट आम्दानी लिँदै आएका छन् । विगतका वर्षहरूमा यहाँबाट वार्षिक डेढ सयदेखि दुई सय क्विन्टलभन्दा बढी उत्पादन हुने गरेको थियो। कुनै वर्ष त दुई करोडसम्म आम्दानी भएको स्थानीय बताउँछन्। तर यस वर्ष मौसमको प्रतिकूल प्रभावले फल झरेपछि उत्पादन आधाभन्दा कम हुने अनुमान गरिएको छ ।
स्थानीय परविर पुनका अनुसार विगतमा पाँच सय क्विन्टलसम्म उत्पादन हुने गरेकोमा पछिल्ला वर्षहरूमा वर्षा, असिना र हावाहुरीले फूल झारिदिँदा उत्पादन घट्दै गएको छ। यस पटक राम्रो फल भएको थियो उनले भने – ‘करिव १० लाख जतिको आम्दानि हुने अपेक्षा थियो तर अकल्पनिय हावाहुरीले सबै झारेर नोक्सान वनाइदियो’ । ‘त्यसो त पुराना रुखहरू पनि सुक्दै गएका छन्। नयाँ बिरुवा रोपेका छौं तर उत्पादन दिन समय लाग्छ,’ उनले भने। एउटा परिपक्व रुखबाट दुई सय किलोसम्म सुगन्धकोकिला उत्पादन हुने गरेको थियो भने यसपालि धेरै हावाहुरीका कारण रुखमा फल कम लागेको वताए ।
सुगन्धकोकिलाको बोक्रा र फलबाट सुगन्धित तेल, अत्तर, साबुन, स्याम्पु र अगरबत्ती बनाइन्छ । यसको माग स्वदेश तथा विदेशमा रहेको छ । प्रतिकिलो पाँच सयदेखि सात सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। उत्पादन घटेसँगै आम्दानीमा प्रत्यक्ष असर परेको छ। कतिपय परिवारले वर्षभरिको मुख्य आम्दानी नै गुमाउने अवस्था आएको छ।
स्थानीय जीवराज रेउले भने, ‘यो हाम्रो पहिचान हो । सुगन्धकोकिलाले छिल्लीकोटलाई बासनादार बनाएको छ । तर मौसम परिवर्तन र पुराना रुख सुक्दै जाँदा चिन्ता बढेको छ। सरकारले संरक्षण र बजार व्यवस्थापनमा ध्यान दिनुपर्छ।’ कतिपयले चिस्यान केन्द्र र प्रशोधन इकाई नहुँदा कच्चा पदार्थ सस्तोमा बेच्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ ।
यता अर्का स्थानिय वासिन्दा ओमप्रकाश पुनले यस क्षेत्रको यो महत्वपूर्ण आम्दानीको श्रोत भएकोले राज्यले पनि त्यहि अनुसारको संरक्षण र सहज वजारको लागि आवश्यक पहल थाल्नुपर्ने कुरामा जोड दिए ।
छिल्लीकोट पर्यटकीय गन्तव्यका रूपमा पनि विकास हुँदै गएको छ । तर सुगन्धकोकिला स्थानीयको मुख्य आर्थिक आधार हो । यसको संरक्षण र व्यावसायिक खेती विस्तार नभए करोडौंको सम्भावित आम्दानी गुम्ने जोखिम छ । स्थानीयले नयाँ बिरुवा रोप्ने अभियान चलाए पनि दीर्घकालीन संरक्षणका लागि सरकारी सहयोग, अनुसन्धान र बजार पहुँच आवश्यक रहेको उनीहरूको माग छ ।
यस वर्षको हावाहुरीले छिल्लीकोटका किसानलाई ठूलो धक्का दिएको छ । मौसम अनुकूल भए पनि पुराना रुखको संरक्षण र नयाँ खेती विस्तारमा ध्यान नदिइए भविष्यमा अझ ठूलो क्षति हुन सक्ने स्थानीयको चिन्ता छ । साक्षीखबरबाट


