स्क्रब टाइफसबाट महिला बढी प्रभावित, सल्यानमा संक्रमित ६७२ पुगे

सल्यान । मंगलबार सल्यानमा थप २४ जना संक्रमित फेला परेसँगै किटजन्य रोग स्क्रब टाइफसबाट संक्रमित हुनेको सङ्ख्या ६७२ पुगेको छ। सरकारी तथा निजी स्वास्थ्य संस्थामा गरी ६४ जनाको नमुना परीक्षण गर्दा मंगलबार मात्रै २४ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

संक्रमितमध्ये सरकारी स्वास्थ्य संस्थामा गरिएको परीक्षणमा १६ महिला र सात पुरुष गरी २३ जना तथा निजी स्वास्थ्य संस्थामा गरिएको परीक्षणमा एक महिला रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ।

स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. प्रतिभा विकद्वारा प्रमाणित विवरणअनुसार बागचौरमा १३ जना, छत्रेश्वरीमा तीन जना, दार्मामा तीन जना, कपुरकोटमा तीन जना र जिल्ला अस्पतालमा दुई जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण बढ्दै गएपछि स्वास्थ्यकर्मीहरूले खेतबारी तथा झाडीमा काम गर्दा शरीर ढाक्ने कपडा लगाउन, सरसफाइमा विशेष ध्यान दिन र ज्वरो आएमा वा अन्य लक्षण देखिएमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा गई परीक्षण गराउन आग्रह गरेका छन्।

हालसम्म जिल्लाभर एक हजार ७९९ महिला र ९२० पुरुष गरी दुई हजार ७१९ जनाको परीक्षण गरिएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालले जानकारी दिए । परीक्षण गराएका बिरामीमध्ये हालसम्म ५२३ महिला र १४९ पुरुष गरी ६७२ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको उनले बताए।

जिल्लामा स्क्रब टाइफसबाट संक्रमितमध्ये करिब ७८ प्रतिशत महिला र २२ प्रतिशत पुरुष छन्। महिला संक्रमितको सङ्ख्या पुरुषको तुलनामा करिब ३.५ गुणा बढी रहेको छ।

यसै रोगको जटिलताका कारण जिल्लामा हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन्। ज्यान गुमाउनेमा दार्मा गाउँपालिकाका मात्रै आठ जना र छत्रेश्वरी गाउँपालिकाका एक जना रहेका छन्। गोरखापत्रबाट

प्रकाशित मिति : २०८३ असोज २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस