सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

सल्यान । सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–३ धुबाङकी ६९ वर्षीया खली खत्रीको उपचारका क्रममा बुधबार नेपालगन्जमा मृत्यु भएको हो ।

दार्मा गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार खत्रीमा असोज ३ गते गरिएको परीक्षणमा स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो । त्यतिबेला अवस्था सामान्य रहेकाले स्वास्थ्यकर्मीले औषधि दिएर उनलाई घर पठाएका थिए । पछि स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नेपालगन्ज लगिएको थियो ।

‘असोज ३ गते परीक्षण गर्दा स्क्रब टाइफस पोजेटिभ देखिएको थियो । त्यतिबेला अवस्था सामान्य भएकाले औषधि दिएर पठाएका थियौं,’ स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले भने, ‘पछि स्वास्थ्यमा समस्या देखिएपछि नेपालगन्ज लगिएको थियो । उपचारकै क्रममा मृत्यु भएको जानकारी आएको छ ।’

योसँगै दार्मामा स्क्रब टाइफस संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । स्वास्थ्य शाखाका अनुसार यसअघि वडा नम्बर ६ का ८२ वर्षीय बलबहादुर थापा, वडा नम्बर ५ का ६९ वर्षीय तुलबहादुर खड्का, वडा नम्बर ६ का ६७ वर्षीय नरबहादुर बुढाथोकी, वडा नम्बर १ का ५१ वर्षीय खिमानन्द केसी, वडा नम्बर २ का १२ वर्षीय नरेश ओली तथा वडा नम्बर १ का ६७ वर्षीय तोताराम सुनार र ६१ वर्षीय नरेन्द्र रोकायको मृत्यु भइसकेको छ ।

उनीहरूमध्ये अधिकांशको स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्जलगायत जिल्ला बाहिरका अस्पतालमा लगिएको थियो ।

दार्मामा पछिल्लो एक महिनायता स्क्रब टाइफस संक्रमण तीव्र रूपमा फैलिएको छ । गाउँपालिकाका विभिन्न वडामा दैनिकजसो संक्रमित भेटिन थालेपछि स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पुगेर परीक्षण तथा उपचारमा जुटेको छ । स्वास्थ्य शाखाका अनुसार पछिल्ला दिनमा परीक्षण गर्दा दैनिक २ देखि ५ जनासम्ममा संक्रमण पुष्टि हुने गरेको छ ।

प्रकाशित मिति : २०८३ असोज ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस