अम्लपित्त (ग्यास्ट्रिक)को समस्या भएकाहरूले रातो खुर्सानी नखानुहोस् । रातो मासु पनि सकेसम्म कम गर्नु धेरै हिसाबले राम्रो हुन्छ । रातो खुर्सानीले पेटमा पित्त र एसिडको मात्रा तुरुन्तै बढाएर छाती पोल्ने र अमिलो डकार आउने समस्यालाई झन् बढाउन सक्छ । यी लक्षण देखिए भने कम गर्नु वा केही समय नखानु नै राम्रो हुन्छ ।
रातो मासु पच्न निकै भारी हुने गर्छ । अम्लपित्त हुँदा पाचन अग्नि कमजोर भई अविपाक (अपच) हुने भएकाले रातो मासु खाँदा पेटमा अझ धेरै एसिड बन्छ र पित्त झन् बिग्रिन्छ, यसलाई आयुर्वेदमा विदग्ध भएको भनिन्छ । धेरै बोसो भएको, धेरै तेल र मसला हालेर पकाएको मासुले अपच र एसिडिटी झन् बढाउँछ । त्यसैले सकेसम्म त्यस्तो खाना नखानुहोस् । यदि खाए पनि बोसो कम भएको र मसला कम हालेर खानु उचित मानिन्छ ।
खाना खानेबित्तिकै ओछ्यानमा पल्टिहाल्ने चाहिँ गर्दै नगर्नुहोला । अनि धेरै लामो समय पेट खाली पनि नराख्नुहोला । आफूलाई के खाँदा समस्या भइरहेको छ भन्ने कुरा थाहा पाउनु पनि महत्त्वपूर्ण हुन्छ । एउटै समस्या व्यक्तिमा फरक फरक लक्षणसहित देखिन सक्छन् । एउटै समस्यामा पनि सबै व्यक्तिलाई एउटै तरिकाको उपचार र औषधिले काम नगर्न सक्छ, त्यसैले व्यक्तिअनुसार फरक पर्न सक्छ ।
खुर्सानी खाँदा पेट पोल्छ भने यो खाँदै नखानुहोस् । तर ग्यास्ट्रिककै समस्यामा रातो मासु पूर्ण रूपमा छोड्नुपर्छ भन्ने छैन । यस्तो मासु खाँदा बोसो र मसला धेरै हुन हुँदैन ।
पेट धेरै दुख्ने, बारम्बार बान्ता हुने, कालो दिसा आउने वा रगत बान्ता हुनेजस्ता लक्षण छन् भने चाहिँ तुरुन्तै चिकित्सकसँग जाँच गराउपर्दछ ।


