दिदीघरको २२ औं वार्षिक साधारणसभा

तुलसीपुर । तुलसीपुर–६ स्थित दिदीघर बाल संरक्षण गृहको २२औं साधारणसभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष लक्ष्मी चौधरीको अध्यक्षतामा र तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको हो ।

दिदीघरकी संस्थापक अध्यक्ष समेत रहेकी उपमेयर चौधरीले संस्था स्थापना भएको २२ वर्षको अवधिमा करिब डेढसय जनालाई संरक्षण गरी तथा उत्पादन भएका अधिकांश सरकारी जागिरमा तथा अमेरिका, जापानलगायतका देशमा अध्ययन तथा रोजगारीका लागि पुगेको जानकारी दिइन् । हाल पनि संस्थाले २५ जना बालबालिकालाई संरक्षण दिइरहेको र वकिल, स्वास्थ्य, कृषि, शिक्षालगायत क्षेत्रमा क्षमता अनुसारका दक्ष जनशक्ति उत्पादन गरिरहेको उनले बताइन् ।

“यहाँबाट उत्पादन भएका सबैको भविष्य राम्रो बनेको छ, आगामी दिनमा थप बालबालिकाको जीवन खुसी बनाउन प्रयास जारी रहनेछ” उपमेयर चौधरीले भनिन्, “कसैलाई पनि बाबुआमा नभएकोमा दुःखी हुन नपरोस् भन्ने नै हाम्रो उद्देश्य हो ।”

उनले विपद्मा परी घर गुमाएका र अभिभावकविहीन भएका रसुवा र धादिङका दुई बालबालिकालाई सिडियोको रोहबरमा दिदीघरमा राखी कक्षा १२ सम्म अध्ययन गराउने योजना रहेको समेत जानकारी दिइन् ।

कार्यक्रममा बोलेका वक्ताहरूले दिदीघरलाई धर्मघर र आमाघरका रूपमा समेत चिनिने बताउँदै अनाथ, विपन्न तथा बेसहारा बालबालिकाको पालनपोषण र शिक्षादीक्षामा संस्थाले पुर्याएको योगदानको प्रशंसा गरे। संस्थाले महिला बालबालिकाहरुको लागि सुरक्षित घर समेत सञ्चालन गरिरहेको उल्लेख गर्दै जन्मदिन वा शुभकार्यमा हुने फजुल खर्च जोगाएर दिदीघरलाई सहयोग गर्नुपर्ने आग्रह गरेका छन् ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाशचन्द्र सिवाकोटी, वडा नं. १३ का अध्यक्ष मोहन पौडेल, नगरकार्यपालिका सदस्य बसन्ता केसी, न्यायिक समिति सदस्य देवी पोख्रेल, वडा नं. १३ की वडासदस्य विमला शर्मा, महिला तथा बालविकास शाखा तुलसीपुरकी प्रमुख माया श्रेष्ठ, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुली र महिला अधिकारकर्मी सुष्मा गिरी लामिछानेलगायतले बोलेका थिए ।

कार्यक्रममा संस्थाकी कोषाध्यक्ष माया चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण सहसचिव संगिता चौधरीले गरेकी थिइन् ।

प्रकाशित मिति : २०८३ भाद्र २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस