राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघिल्ला सरकारबाट राजनीतिक (कांग्रेस, एमाले र नेकपा) नियुक्ति पाएकाहरूलाई स्वस्फूर्त रूपमा राजीनामा दिएर नयाँ सरकारलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।
महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार विगतमा योग्यता र क्षमताभन्दा राजनीतिक पहुँचका आधारमा नियुक्ति भएको भन्दै नागरिक असन्तुष्टि बढेको छ ।
त्यसैले नयाँ जनादेशअनुसार बन्ने सरकारले प्रभावकारी काम गर्न पुराना नियुक्तिहरूले बाटो छोड्नु उचित हुने उनको भनाइ छ ।
रास्वपाले औपचारिक रूपमा राजीनामा मागिसकेको भने छैन, तर करिब ११०० हाराहारी यस्ता नियुक्ति रहेको अनुमान गर्दै स्वस्फूर्त निर्णयको अपेक्षा गरेको छ ।
हालैको निर्वाचनमा बहुमत नजिक पुगेको रास्वपाबाट प्रधानमन्त्री प्रस्तावित बालेन शाहले चैत १३ मा शपथ लिने तयारी छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई संविधानको धारा ७६(१) अनुसार नियुक्त गर्ने प्रक्रिया अघि बढाउनेछन् ।


