विजौरी । घोराही–तुलसीपुर चारलेन सडक स्तरोन्नतीको काम केहि दिनकालागी सुस्ताएको देखिएपनि निर्वाचन लगत्तै कामले गति लिएको निर्माण कम्पनीले जनाएको छ । अहिले सम्म निर्माण कम्पनीको भौतिक प्रगतिको लक्ष कम्तिमा १० प्रतिसत थियो । तर प्रतिनिधिसभा निर्वाचनका कारण केहि दिन काम अवरोध भएका कारण भौतिक प्रगति ८ प्रतिसत रहेको निर्माण कम्पनी दिवा वन्दना जेभिका कन्ट्याक्ट मेनेजर इन्जिनियर सुनिल ढुंगानाले बताएका छन् ।
चुनावमा मत तान्नकालागी नेताको दवावमा धमाधम काम गरिएको तर चुनावपछि काम सुस्ताएको केहि जनगुनासोलाई निर्माण कम्पनीले सहज रुपमा लिएको छ । चुनावमा मत हाल्न जानुपर्ने भएकाले केहि दिन काम रोकिएको हो, तर कामको गतिले पुन तिव्रता पाएको पनि निर्माण कम्पनीको दावी छ । ‘हो, निर्वाचनमा हामी सवै मत खसाल्न आफ्नो क्षेत्रमा पुग्नुपर्दा करिव दुई साता कामले तिब्रता पाउन नसकेको यथार्थ हो, तर नियतले काम रोकिएको होइन’, ढुंगानाले भने । कम्तिमा पन्ध्र दिन जति काममा अवरोध भएको पनि कम्पनीले जनाएको छ ।
‘निर्वाचन लगत्तै हामीले अहिले कल्भर्ट निर्माणको कामलाइ तिब्रता दिएका छौं’, घोराही–तुलसीपुर सडक खण्डमा एकै साथ २२ स्थानमा कल्भर्ट निर्माणको काम सुरु भैसकेको छ’, कन्ट्याक्ट मेनेजर ढुंगानाले बताए । यस अघिको डिजाइनमा हिमपाइप कल्भर्ट भएपनि अहिलेको डिजाइनमा भने बक्स कल्भर्ट निर्माण हुने पनि निर्माण कम्पनीले जनाएको छ । यसैका कारण धेरै स्थानमा कल्भर्ट निर्माण स्थानमा डाइभर्सन बनाइएको कम्पनीले बताएको छ । यसबाट यातायात सेवामा पर्न गएको कठिन्याइ प्रति पनि निर्माण कम्पनीले सहज रुपमा लिन आग्रह गरेको छ ।

Sakshi Khabar
कल्भर्ट निर्माण सम्पन्न भएसंगैे माटो फिलिङ भएको स्थानहरुमा ग्राभेल भर्ने र रोलिङ गर्ने तयारी रहेको बताइएको छ । त्यससंगै आवश्यक स्थानमा नाला निर्माणको काम पनि धमाधम हुने निर्माण कम्पनीले जनाएको छ । कामलाइ छिटो छरीतो बनाउनकालागी कम्पनीको साइट अफिस वेलझुण्डिमा रेडिमेड नालाहरु निर्माणको काम भैरहेको छ । त्यहि आधुनिक प्रविधिबाट निर्माण गरीएका पक्कि नालाका व्लकहरुलाई सडक किनाराको नाला राख्ने क्षेत्रमा व्यवस्थापन गरीने छ ।

Sakshi Khabar
‘हामीले वेलझुण्ीडको साइट अफिस भित्रै आधुनिक मेसीनको प्रयोग गरी करीव डेढ किलोमिटर सडक क्षेत्रलाइ पुग्ने नाला निर्माण भैसकेका छन् । ग्राभेलको कामसंगै नाला राखिने पनि कम्पनीका कन्ट्याक्ट मेनेजर ढुंगानाले भने । यो काम हुन करीव एक महिनाजती लाग्ने लक्ष निर्माण कम्पनीको रहेको छ । सार्थै सडक स्तरोन्नतीकालागी आवश्यक पर्ने ग्राभेल लगायतका सामाग्रि पनि व्यवस्थापन भैरहेको छ । कम्पनीको साइट स्थलमै क्रसर मेसीन समेत जडान गरी धमाधम काम भैरहेको छ ।
निर्माणको कामलाइ तिब्रता दिन पछिल्लो समस्या भनेको समयमै रुख कटान आदेश नभएको कम्पनीको दावी रहेको छ । त्यसैगरी सडक स्तरोन्नतीका क्रममा टुटफुट भएका खानेपानीका पाइपलाइनहरु पनि संबन्धित खानेपानी उपभोक्ता संस्थाहरुले पुर्नव्यवस्थापन गर्न तत्परता नदेखाएका कारण पनि काममा समस्या भएको कम्पनीका आधिकारीक प्रतिनिधिले बताएका छन् । उपभोक्ता संस्थाहरुको अपेक्षा भनेको काटिएका पाइपलाइनको पुर्नव्यवस्थापन पनि सडकले गरिदिए हुन्थ्यो भन्ने देखिन्छ । त्यसैगरी कल्भर्ट निर्माणस्थलमा कहि कतै अप्टिकल फाइवरहरु पनि पुर्नव्यवस्थापन गर्न दुर सन्चारले तदारुकता देखाउनुपर्ने अपेक्षा निर्माण कम्पनीको रहेको छ ।
यस अघि भारतको एक्जिम बैंकको ससर्त ऋणमा निर्माण हुन थालेको सडक स्तरोन्नतीको ठेक्का रद्ध भएपछि यो सडक नेपाल सरकारकै बजेटबाट हुदै छ । मदन भण्डारी राजमार्ग आयोजनाको नयां कार्यक्रम अनुसार घोराही–तुलसीपुर चारलेन सडक खण्डको लम्वाइ २१ दशमलव ५८ किलोमिटर रहने छ । जुन घोराहीको डिके पम्पदेखि सुरु भएर तुलसीपुरको हात्तिखौवा सम्म रहने छ । आयोजना संझौता अनुसार स्तरोन्नती हुने सडक शहरी क्षेत्रमा २० मिटर कालोपत्रे र फुटपाथ सहित ३० मिटर कायम हुने छ । ग्रामिण क्षेत्रमा भने १५ मिटर चौडाइ कालोपत्रे हुने छ । सडकको बीचमा भने ३ मिटरको मेडियन रहने छ । सो क्षेत्रमा रेलिङ सहित आवश्यकता अनुसार बृक्षारोपण पनि हुने छ ।
सडक निर्माणका क्रममा आवस्यकता अनुसारका क्षेत्रहरुमा सडक पारगर्ने लेनहरु रहने छन् । यात्रुहरुले समेत तोकिएका स्थानवाहेकका स्थानबाट सडक वारपार गर्न मिल्ने छैन । काठमाण्डौको दिवा÷वन्दन भगवती जेभीले सडक निर्माणको जिम्मा पाएको छ । मदन भण्डारी राजमार्ग आयोजनासंग निर्माण संझौता विसं २०८२ असार २४ गते भएको हो । आयोजना निर्माण सम्पन्न गर्नुपर्ने मिति २०८५ असार २४ गते रहेको छ । निर्माण कम्पनीले कुल बजेट २ अर्व ५३ करोड रुपैयामा निर्माण संझौता गरेको हो ।
साभारः साक्षी खबरवाट


