काठमाडौँ। स्थानीय बजारमा बुधबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको हो।
महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार रुपैयाँ कायम गरेको छ। यसअघि मङ्गलबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताका कारण स्थानीय बजारमा सुनको मूल्यले नयाँ उचाइ लिइरहेको छ।
सुनको मूल्य बढे पनि चाँदीको मूल्य भने आज स्थिर रहेको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ, जुन मङ्गलबारकै मूल्य बराबर हो। यसअघि सोमबार सुन ३ लाख १३ हजार २०० र चाँदी ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा वृद्धि देखिएको छ। आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन ५ हजार २१० अमेरिकी डलर र चाँदी ८९ अमेरिकी डलरमा कारोबार भइरहेको सञ्चारमाध्यमहरूले जनाएका छन्।


