काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियान’ का संयोजक एवम् विवादित व्यवसायी दुर्गा प्रसाईंले नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवासँगको आफ्नो तस्बिर पुरानो भएको दाबी गरेका छन् ।
बुधबार थुनामुक्त भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले सामाजिक सञ्जालमा पछिल्लो समय भाइरल भएको तस्बिर दुई–अढाइ वर्ष भएको दाबी गरे ।
“आरजु राणा, पूर्णबहादुर खड्कासँगको फोटो लिक भएको मैले थाहा पाएँ । लिक भएको होइन, त्यो आएको हो, खिचिएको हो । त्यसमा ढाँट्नुपर्ने छैन, एआई होइन ।”
उनले अगाडि भने, “पर्सनल कामले भेटेको हो । दुई–अढाइ वर्ष जति भयो । उहाँको पनि स्कुल छ र मेरो पनि स्कुलको कामले जाँदाखेरि कुनै नेताको घरमा भेट भएको बेला खिचिएको फोटो हो । त्यतिबेला उहाँ परराष्ट्रमन्त्री हुनुहुन्थ्यो ।”
प्रसाईंले दुई–अढाइ वर्ष पहिले भेटेको दाबी गरेपनि आरजु परराष्ट्रमन्त्रीमा नियुक्त भएको २०८१ साल असार ३० गते अर्थात् १९ महिना पहिले हो ।
नेताहरूसँग फोटो खिच्दैमा गलत अर्थ नलगाउन प्रसाईंले आग्रह गरे । “मैले आरजु देउवासँग अढाइ–दुई वर्ष अगाडि फोटो खिच्दाखेरि के बिग्रियो ? अनि अब अहिले नयाँ डेट हालेर फेरि ल्याउन बेर लाउँदैनन् । बेमौसममा पानी पर्यो नि त, त्यही भएर त…, कहिलेकाहीँ बेमौसममा पानी पर्छ, ‘अब यही बेलामा उनीहरूले देखाउन खोजेको, तर म भित्र भएको बेलामा ।”
दुर्गा प्रसाईं, आरजु राणा देउवा र पूर्ण बहादुर खड्काले छलफल गरेको फोटो बाहिरिएपछि सामाजिक सञ्जालमा चर्चा पाएको थियो । कतिपयले निर्वाचन भाँड्न ‘गोप्य डिल’ भन्दै प्रचारसमेत गरेका थिए ।


