पौष २७ : राष्ट्रिय एकताको प्रतीक

पौष २७ गते राजा पृथ्वीनारायण शाहको सम्झनामा पृथ्वी जयन्ती मात्र होइन, यही दिनलाई नेपालमा ‘राष्ट्रिय एकता दिवस’ का रूपमा मनाउने विषयमा लामो समयदेखि बहस हुँदै आएको छ । नेपाल गणतन्त्रात्मक राज्य बनेपछि बेलाबखत पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने कि नमनाउने भन्ने विषय विवादको केन्द्रमा रहँदै आएको छ । तर राष्ट्रिय दिवसलाई नै विवादको विषय बनाइनु राष्ट्र र राष्ट्रियताप्रतिको दृष्टिकोण कमजोर हुनुको संकेत हो ।

अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डाका रूपमा अघि सारेको छ । राप्रपाको तर्क स्पष्ट छ नेपालको एकीकरण पृथ्वीनारायण शाहले गरेका हुन्, त्यसैले उनको सम्झनामा पौष २७ गते राष्ट्रिय एकता दिवस मनाउनुपर्छ । यस दृष्टिकोणलाई विभिन्न संघ–संस्था, स्वतन्त्र नागरिक र बौद्धिक वृत्तले पनि समर्थन गर्दै आएका छन् ।

वास्तवमा ‘राष्ट्रिय दिवस’ भन्नाले राष्ट्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित, साझा इतिहास, पहिचान र भावनालाई प्रतिनिधित्व गर्ने दिनलाई जनाउँछ । यस्तो दिवस राजनीतिक मात्र होइन, अझ गहिरो रूपमा भावनात्मक र पहिचानसँग जोडिएको हुन्छ । पृथ्वीनारायण शाहप्रति सम्मान, सद्भाव र अपनत्व अभिव्यक्त गर्दै सबै नागरिकलाई एकतामा बाँध्ने उद्देश्यले राष्ट्रिय एकता दिवस मनाउनुपर्छ भन्ने मान्यता रहँदै आएको छ । सबै जनताको समान आकांक्षा प्रतिबिम्बित गराउने र साझा राष्ट्रिय चेतनालाई मजबुत बनाउने माध्यमका रूपमा राष्ट्रिय दिवसको महत्व अत्यन्तै ठूलो हुन्छ । तर दुर्भाग्यवश, यही विषयलाई लिएर राजनीतिक दलहरूबीच ईगो र वैचारिक टकराव देखिएको छ ।

पौष २७ गते सबै नेपालीलाई सैद्धान्तिक र भावनात्मक रूपमा प्रतिनिधित्व गर्न सके मात्र राष्ट्रिय एकता दिवस सार्थक हुन्छ । आजसम्म यस विषयमा स्पष्ट र साझा धारणा नबन्नु नै बहस र विवादको मुख्य कारण हो । तर इतिहास र यसको सान्दर्भिकता गहिराइमा हेर्ने हो भने यसमा विवाद गर्नु पर्ने खासै कारण देखिँदैन ।

नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहलाई ‘राष्ट्र निर्माता’ मान्ने विषयमा आज पनि बहस चलिरहेको छ । स–साना राज्यहरूलाई एकीकृत गरी विशाल नेपालको निर्माण गर्ने ऐतिहासिक भूमिका निर्वाह गरेका पृथ्वीनारायण शाह नै हुन् भन्ने बलियो आधार हुँदाहुँदै पनि राज्यस्तरबाट उनलाई राष्ट्र निर्माताको सम्मान दिन कञ्जुस्याइँ गरिएको देखिन्छ । पाठ्यपुस्तक र इतिहासमा राष्ट्र निर्माता भनेर उल्लेख गरिए पनि व्यवहारमा राज्यको दृष्टिकोण अस्पष्ट छ ।

विश्व राजनीतिक इतिहास हेर्ने हो भने उपनिवेशबाट देशलाई मुक्त गराउने वा स–साना राज्यहरूलाई एकीकरण गरी राष्ट्र निर्माण गर्ने व्यक्तिहरूलाई सम्बन्धित देशले राष्ट्र निर्माताको रूपमा सम्मान दिएको पाइन्छ । उनीहरूको योगदान अमर राख्न स्मारक, संस्था, शहरहरूको नामकरण गरिन्छ, मुद्रा नोटमा तस्वीर अंकित गरिन्छ । यसले भौतिक शरीरभन्दा पर उनीहरूको ऐतिहासिक योगदानलाई जीवित राख्ने काम गर्छ ।

भारतमा महात्मा गान्धीलाई राष्ट्रपिता मानिन्छ । उनको तस्वीर भारतीय मुद्रामा अंकित छ, उनका नाममा थुप्रै संस्था र संरचना छन् । त्यस्तै, सुवाषचन्द्र बोस, जवाहरलाल नेहरू, लालबहादुर शास्त्रीलगायत स्वतन्त्रता संग्रामका नायकहरूलाई पनि सम्मानपूर्वक सम्झिन्छ । पाकिस्तानमा अलिजिन्ना, चीनमा सन यात्सेन र माओ, अमेरिकामा जर्ज वाशिङ्टन—यी सबै उदाहरणहरूले राष्ट्र निर्माणमा योगदान दिने व्यक्तिलाई सम्मान गर्ने विश्वव्यापी मान्यता पुष्टि गर्छन् ।

तर नेपालमा ‘राष्ट्र निर्माता को ?’ भन्ने प्रश्न अझै अन्योलमा छ । यदि पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन् भने किन उनलाई सोही सम्मान नदिने ? यदि उनले एकीकरण अभियान नथालेका भए बाइसे–चौबीसे राज्य, मल्ल राज्य, सेन–किरात र मिथिला राज्यहरू अलग–अलग अस्तित्वमै सीमित रहने सम्भावना उच्च थियो । त्यतिबेला भारतलगायत एशियाका धेरै भूभाग अंग्रेज उपनिवेशमा परिसकेका थिए र नेपालमाथि पनि उपनिवेशको खतरा स्पष्ट थियो । त्यसको प्रतिकारका लागि सशक्त, एकीकृत र बलियो राष्ट्र आवश्यक थियो ।

पृथ्वीनारायण शाहले आफ्नै ज्यान जोखिममा राखेर एकीकरण अभियानको नेतृत्व गरे । उनको दूरदर्शिता, साहस र रणनीतिका कारण स–साना राज्यहरू गाभिएर विशाल नेपाल निर्माण सम्भव भयो । त्यसैले एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माता मान्नु स्वाभाविक र तर्कसंगत हो । देश निर्माण गर्ने व्यक्तिलाई राष्ट्र निर्माता मान्न कुनै अतिरिक्त बहस आवश्यक पर्दैन ।

राष्ट्र निर्माता वंशानुगत रूपमा सत्तामा आएको हुन सक्छ वा जनआन्दोलनबाट उदाएको पनि हुन सक्छ । तर सबै शासक राष्ट्र निर्माता हुँदैनन् । जसले राष्ट्रको अस्तित्व, एकता र सुरक्षा सुनिश्चित गर्छ, उसैलाई राष्ट्र निर्माता मानिन्छ । नेपालको सन्दर्भमा पृथ्वीनारायण शाहले बाह्य हस्तक्षेपबाट जोगाउँदै राष्ट्र निर्माणको ऐतिहासिक दायित्व पूरा गरेका छन् ।

कतिपयले उनलाई ‘विस्तारवादी’ भन्दै आलोचना गर्छन् । तर जुनसुकै मनसायबाट भए पनि राष्ट्रलाई एकीकृत र सुरक्षित बनाउनु सकारात्मक पक्ष नै हो । यदि एकीकरण नभएको भए आज मेचीदेखि महाकाली, हिमालदेखि तराईसम्म बसोबास गर्ने हामी सबै ‘नेपाली’ भनेर चिनिन्थ्यौं भन्ने ग्यारेन्टी थिएन । आज गौतम बुद्ध, राजा जनक, सीता, भृकुटी, बाल्मीकि नेपालमा जन्मिएका हुन् भनेर गर्वका साथ भन्न पाउनु पनि ऐतिहासिक एकीकरणकै परिणाम हो ।

विश्वको सर्वोच्च शिखर सगरमाथा हाम्रो हो भनेर गर्व गर्ने अवसर दिलाउने व्यक्तिलाई राष्ट्र निर्माता किन नमान्ने ? राष्ट्र निर्माता पहिचान गर्न नसक्नु वा पहिचान गरिसकेपछि पनि सम्मान दिन नजान्नु असभ्य संस्कारको द्योतक हो ।

व्यवस्था फेरिन सक्छ, तर राष्ट्र निर्माता फेरिँदैन । राष्ट्र निर्माता मनोवृत्तिले होइन, इतिहास र योगदानले तय हुन्छ । त्यसैले पृथ्वीनारायण शाहको तस्वीर नेपाली मुद्रामा अंकित हुनु, उनका शालिक र स्मारक सुरक्षित रहनु राष्ट्रिय सम्मानको विषय हो । सम्मान दिनुको साटो शालिक तोड्ने, नाम उच्चारण गर्न लाज मान्ने प्रवृत्ति खेदजनक छ ।

शालिक कुनै जीवित शरीर होइन, इतिहासको प्रतिमूर्ति हो । शालिक हटाउनु भनेको इतिहास मेटाउनु हो । छिमेकी भारतमा प्राचीन शासकदेखि उपनिवेशकालीन व्यक्तित्वसम्मका शालिक सुरक्षित छन् । तर नेपालमा व्यवस्था फेरिएसँगै इतिहास मेट्ने प्रयास गरिनु गम्भीर चिन्ताको विषय हो ।

राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र प्रजातन्त्रप्रति विश्वास राख्ने सबै नेपालीले देशको मौलिकता, इतिहास, संस्कृति र पहिचान जोगाउन सचेत हुनुपर्छ । आपसी द्वन्द्व र असहिष्णुताले राष्ट्रिय एकता कमजोर पार्छ, जसको अन्ततः असर विकास र स्थायित्वमा पर्छ ।

त्यसैले राजनीतिक दल, पत्रकार, बुद्धिजीवी, लेखक र शिक्षित वर्गले संकीर्ण घेराभन्दा माथि उठेर राष्ट्र निर्माणका मुद्दामा गम्भीर बहस गर्नुपर्छ । साझा उद्देश्य समुन्नत राष्ट्र निर्माण र लोकतन्त्रको संस्थागत विकास हो । यस यात्रामा योगदान दिने महापुरुष र बलिदानी शहीदहरूलाई सम्मान गर्न जान्नु नै सभ्यताको परिचायक हो ।

राष्ट्रिय दिवस मनाउँदा इतिहासलाई गौरवका साथ हेर्नुपर्छ । राष्ट्र निर्माणमा भूमिका खेलेका सबैप्रति सम्मान व्यक्त गर्दै राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना ।

प्रकाशित मिति : २०८२ पुष २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस