लुम्बिनी प्रदेशले प्रधानमन्त्री उद्धार कोषमा तीन करोड सहयोग गर्ने

बुटवल । लुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको तर्फबाट विपद् प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग उपलब्ध गराइने जानकारी दिए । यसैगरी, लुम्बिनी प्रदेशभित्र स्थायी रूपमा बसोबास गर्ने नागरिक विपद्मा परी मृत्यु भएमा उनीहरूका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराइने भएको छ ।

यस्तै, सरकारले विपद्का समयमा प्रदेशभित्रका उद्योगी व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक संघसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई आ–आफ्नो ठाउँबाट राहत तथा सहयोग उपलब्ध गराउन पनि अपिल गरेको छ । यसैबीच रसुवा बाढीपछि लुम्बिनी प्रदेशका १८१ जना व्यक्ति अझै सम्पर्कविहीन रहेको सरकारका प्रवक्ता सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले बताए ।

प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारका लागि पहल गरिरहेको जनाएको छ । यस्तै, नदीमा बगेर लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीमा आएका शवको व्यवस्थापनमा समेत प्रदेश सरकारले आवश्यक भूमिका निर्वाह गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस