साढे ३ महिनापछि जलेका पार्टी कार्यालय निरीक्षणमा जाँदै मन्त्रीहरू

काठमाडौं : सरकारका मन्त्रीहरूले मंगलबार प्रमुख तीन दलका पार्टी कार्यालयको निरीक्षण गर्ने भएका छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल सिन्हा र सञ्चार मन्त्री जगदीश खरेल राजनीतिक दलको कार्यालय अनुगमनमा जान लागेका हुन् ।

बिहान ११ बजे कांग्रेस पार्टी कार्यालय सानेपा, दिउँसो १ बजे एमाले पार्टी कार्यालय च्यासल र दिउँसो ३ बजे पेरिसडाँडास्थित नेकपाको केन्द्रीय कार्यालय जाने तय भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

ढिलै भएपनि सरकार पार्टीको कार्यालयमा आउन लागेको भन्दै एमाले सचिव महेश बस्नेतले सोमबारको सर्वदलीय बैठकमा धन्यवाद दिएका थिए ।

भदौ २३ गतेको जेनजी आन्दोलनको भोलिपल्ट भदौ २४ मा अनियन्त्रित भीडले पार्टीका कार्यालयमा आगजनी गरेको थियो । जलेका पार्टी कार्यालय आंशिक रूपमा सञ्चालनमा आएका छन् ।

प्रकाशित मिति : २०८२ पुष ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस