काठमाडौं । अख्तियार दुरुपयोग अनसन्धान आयोगले पोखरा विमानस्थल अनियमितता प्रकरणमा तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, पोस्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्यसमेतलाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
त्यस्तै, १० जना तत्कालीन सचिवसमेतलाई विपक्षी बनाइएको मुद्दामा नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ५५ प्रतिवादी छन् ।
करिब आठ अर्ब बिगो दाबी गरिएको उक्त मुद्दामा १२ वर्षअघि निधन भएका तत्कालीन मन्त्री तथा माओवादी नेता पोस्टबहादुर बोगटीसमेतका प्रतिवादी छन् । बोगटीको हृदयघातका कारण ०७१ साल भदौ ३० मा निधन भइसकेको छ ।
यस्तै, प्रतिवादी बनाइएकामा कांग्रेस नेता तथा तत्कालीन मन्त्री डा. रामशरण महत छन् । नेपालको अर्थतन्त्रमा गरेको सुधार र आर्थिक नीतिमा आएको परिवर्तनका लागि जिम्मेवार मानिएका डा. महतमाथि भ्रष्टाचार गरेको रकम राख्न विदेशी बैंकमा खाता खोलेको आरोप संसद्मा लागेपछि अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।
छानबिनले उनले विदेशी संस्थामा जागिर खाँदाको खाता मात्र रहेको भन्दै आरोप गलत ठहराएपछि उनी पुनः पदबहाली भएका थिए ।
झन्डै दुई दशकसम्म पटकपटक अर्थमन्त्री भएर काम गरेका उनीमाथि राजनीतिमा सक्रिय रहँदासम्म भ्रष्टाचार अभियोग लागेको थिएन । आर्थिक क्षेत्रमा निजी क्षेत्रको भूमिका बढाएर अर्थतन्त्र चलायमान बनाएको श्रेय पाएका उनी पछिल्लो सयम ‘अल्जाइमर्स’ रोगका कारण स्मरणशक्ति गुमाएर आराम गरिरहेका छन् ।
आफ्ना समकालीन साथीहरूलाई समेत नचिन्ने अवस्थामा रहेका उनीविरुद्ध भ्रष्टाचार मुद्दा अदालतमा दर्ता भएको छ ।
त्यस्तै, ०७९ सालमा पहिलो संविधानसभा विघटित भएपछिको चुनावी सरकारमा मन्त्री भएका रामकुमार श्रेष्ठ पनि पोखरा विमानस्थल भ्रष्टाचारमा तानिएका छन् । त्यसपछि ओली सरकारमा पर्यटनमन्त्री बनेका एमाले नेता भीम आचार्य पनि भ्रष्टाचारमा तानिएका छन् ।
यसका साथै झलनाथ खनाल एमालेका अध्यक्ष हुँदा सचिवालयमा बसेका दीपक अमात्य दोस्रो संविधानसभामा सांसद र पर्यटन मन्त्री बनेका थिए । उनी पनि पोखरा विमानस्थल भ्रष्टाचारमा तानिएका छन् ।
आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार बिगो बनाइएको मुद्दामा तत्कालीन पाँच मन्त्री, १० सचिव र तत्कालीन आयोजना प्रमुख तथा हाल नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशकसमेत रहेका प्रदीप अधिकारसहित ५५ जना प्रतिवादी छन् ।
निर्माणकर्ता चिनियाँ कम्पनीलाई पनि विपक्षी बनाइएको छ ।


