नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि अर्घाखाँचीमा भएको चुनावमा लुम्बिनी प्रदेशका सांसद रामजीप्रसाद घिमिरे पराजित भएका छन् ।
निर्वाचन कमिटी अर्घाखाँचीका अनुसार कूल ३ हजार ६५० मतमध्ये पुरुष खुलातर्फ पिताम्बर भुसाल ३ हजार १८७ मतसहित विजयी हुँदा प्रदेशसभा सदस्य घिमिरे १ हजार ९८० मत अन्तरले पछि परे ।
वसन्त कुमार श्रेष्ठ २ हजार ८४१, रेशम थापा २ हजार ७७०, शम्भु प्रसाद पोखरेल २ हजार ७४३, तेज प्रसाद खनाल २ हजार ५३३ र कमलप्रसाद घिमिरे २ हजार ४४४ मतसहित निर्वाचित भएका छन् ।
पराजित भएका प्रेम नारायण गैरेले १ हजार २६५, रामजीप्रसाद घिमिरेले १ हजार २०७ र श्रीकृष्ण भुसालले १ हजार ८८ मत पाए ।
महिला खुलातर्फ दीपा आचार्य ३ हजार ३७, विष्णुमाया आचार्य २ हजार ९९३, लक्ष्मी गौतम २ हजार ९१० र सुष्मा श्रेष्ठ २ हजार ८६३ मतसहित निर्वाचित भएका छन् । गीता भाट क्षेत्री १ हजार ११८ मतसहित पराजित भइन् ।
युवा खुलातर्फ तेजबहादुर रायमाझी र दलिततर्फ लिलबहादुर विक तथा आशा परियार निर्विरोध चयन भएका छन् ।
अर्घाखाँची एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको गृहजिल्ला हो । रायमाझी भुटानी शरणार्थी काण्डमा मुछिएपछि कारागार चलान भएसँगै उनको पद निलम्बनमा परेको थियो ।


