‘कन्सर्ट सकिए पनि नेपथ्य रहिरहनेछ ओशाकाको हलमा’

जापान शृङ्खलाको अन्तिम प्रस्तुति ओशाका शहरमा सोमबार सकिएसँगै नेपथ्य स्वदेश फर्कँदैछ ।

तर, प्रदर्शनस्थल ‘जेप ओशाका बे साइड’मा यो ब्यान्ड दीर्घकालसम्मै रहनेछ । प्रदर्शनस्थल व्यवस्थापनले नेपथ्यको हस्ताक्षरसहितको सन्देश मागेको छ, जसलाई हलको ‘वाल अफ फेम’मा राखिनेछ ।

नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठका अनुसार आफ्नो स्थानमा आएर प्रस्तुति दिनेमध्ये गर्व गर्नलायक समूहलाई फ्रेमसहित भित्तामा सजाउने चलन विश्वभरिका हलमा हुन्छ ।

उनी भन्छन्, ‘१३ वर्षअघि लन्डनको वेम्बली एरिनामा उपस्थित हुनु नेपथ्यका लागि एउटा मानक थियो भने विश्वप्रसिद्ध शहर अनि जापानकै आर्थिक महानगरको प्रतिष्ठित हलले यसरी सम्मान गर्नु ब्यान्डका लागि अर्को मानक भएको छ ।’

हलका प्रबन्धक एन्डो नाओसीले नेपथ्यको कन्सर्टमा अद्भुत अनुभव गर्न पाएको सुनाए । ‘हामीकहाँ नेपालकै पनि अन्य धेरै कार्यक्रम आयोजना हुँदै आएका थिए,’ उनले भने, ‘तर नेपथ्यको आजको कन्सर्टमा देखिएको व्यापक सहभागिता, दर्शकको ऊर्जा र सबै गीतमा साथसाथै गाएर उनीहरूले प्रस्तुत गरेको आत्मीयताबाट म प्रभावित भएँ ।’

ओशाकाको प्रस्तुतिसँगै लोकरक ब्यान्ड नेपथ्यले यस वर्षको शृङ्खलाबद्ध जापान यात्रालाई विश्राम दिएको छ । अघिल्ला दुई शहर नागोया र टोकियोजस्तै ओशाकामा पनि नेपथ्यको प्रस्तुतिलाई दर्शकको भव्य उपस्थितिले साथ दिएको थियो ।

सोमबार बेलुकी ५ बजे ढोका खुलेपछि हलभित्र प्रवेश गरेका दर्शकले मञ्चमा कलाकार टोली देखिनासाथ चर्को आवाजसहित स्वागत गरेका थिए । टोलीले पहिलो गीत ‘हो रामा रामा’ प्रस्तुत गरेको थियो ।

कार्यक्रम अवधिभर दर्शकसँग संवादसमेत गरेका अमृतले घरी नेपाल पुगेको बेला डाँडा–काँडाको यात्रा गर्न प्रेरित गरेका थिए भने घरी नेपाली भाषा र संस्कृतिलाई जीवित राख्न अनुरोध गरेका थिए ।

उनले ‘यो जिन्दगानी’ गीत प्रस्तुत गर्नुअघि हाम्रो समाजिक परम्परा परोपकारी चरित्रको रहेको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिन आह्वान पनि गरे । विदेशमा कमाएको थोरै पैसा जोगाएर भए पनि नेपालमा पढ्न नपाएका केटाकेटीलाई शिक्षाको उज्यालो घाम देखाइदिन उनले अनुरोध गरे ।

कार्यक्रममा अमृतलाई सदैवझैं ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

‘दर्शकको भव्य उपस्थिति र उनीहरूको उत्साह देखेर एकदमै सन्तुष्टि महसुस भइरहेको छ,’ आयोजक टोलीका पूर्ण गर्बुजाले प्रतिक्रिया दिए, ‘यो अवसर प्रदान गरिदिएकामा नेपथ्य र नेपालयप्रति आभारी छौं ।’

ओशाकाको कन्सर्ट सकिएसँगै नेपथ्यको जापान यात्राले यस वर्षका लागि विश्राम लिएको छ । नेपथ्य टोली अब नेपाल फर्कने तयारीमा जुटेको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस