वैदेशिक रोजगारीमा जान दुई लाख ७३ हजारले लिए श्रम स्वीकृति

काठमाडौ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा दुई लाख ७३ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार, २०८२ साउन १ गतेदेखि कात्तिक मसान्तसम्मको अवधिमा कुल दुई लाख ७३ हजार ८१० जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीमा जानेहरूलाई विभागले श्रम स्वीकृति दिने गर्छ । गत कात्तिकमा मात्र ७३ हजार ९४ नेपालीले श्रम स्वीकृति लिएको विभागले मंगलबार सार्वजनिक गरेको छ ।

गत कात्तिक महिनामा ६४ हजार ४९० जना पुरुष र आठ हजार ६०४ जनाले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका थिए । विभागको तथ्यांकअनुसार, २०८२ साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२, असोजमा ६४ हजार ६३४ र कात्तिकमा ७३ हजार ९४ जनाले श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा कुल दुई लाख ४१ हजार ५८१ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ३२ हजार २२९ जना बढीले श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या १३.३४ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस