त्रिवि सुरक्षाका लागि प्रहरी तैनाथ, विद्यार्थीलाई दिइयो ‘बटमलाइन’

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा प्रहरी तैनाथ गरिएको छ । विद्यार्थी संगठनहरूको तोडफोडका कारण असुरक्षा बढेको र दैनिक कार्यमा असर परेको भन्दै उपकुलपति दीपक अर्यालसहितले सरकारसँग सुरक्षा माग गरेपछि प्रहरी तैनाथ भएको हो ।

अखिल क्रान्तिकारी संवद्ध विद्यार्थीले सोमबार (साउन २६) रजिस्ट्रार र रेक्टर कार्यालयमा तोडफोड गरेका थिए । त्यसक्रममा विद्यार्थी र प्रहरीबीच झडप हुँदा केही विद्यार्थी घाइते भएका थिए ।

उपकुलपति अर्यालको कार्यकक्षबाहिर २१ दिनयता केही विद्यार्थी अनशन बसेका थिए । कार्यालयमा असुरक्षा बढेपछि अर्यालले काम गर्न पाएका थिएनन् ।

नौ महिना पहिले सामाजिक कार्य, अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, लैंगिकता सम्बन्धी अध्ययन केन्द्रीय विभागमा गाभिएको थियो । त्यसपछि सो कार्यक्रमको शुल्क घटाउनुपर्ने माग राख्दै आएका थिए ।

सरकारसँग त्रिविले माग्यो सुरक्षा, के हो कार्यालय तोडफोडको घटना ?
उपकुलपति अर्याल भन्छन्, “सरकारले सुरक्षा व्यवस्था मिलाइदिएको छ । अझै सहज भइसकेको त छैन । तर, उहाँहरूलाई शुल्क कतिसम्म घटाउन सकिन्छ भनेर ‘बटमलाइन’ दिएर पठाएका छौँ । कुरा सकारात्मक भएको छ ।”

लामो समयदेखि गुन्डागर्दीका कारण नेपालकै पुरानो विश्वविद्यालय समस्यामा विभिन्न विभागका डाइरेक्टर, डीन र कन्ट्रोलर रिक्त हुने बेला र नयाँ विद्यार्थी भर्ना गर्नुपर्ने समय आएकाले ‘पदको लबिङ’का लागि गुन्डागर्दी शैली देखाइएको त्रिवि स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस