‘कुलिङ पिरियड’को हेरफेरबारे रेकर्ड खोज्न सचिवालयलाई सभामुखको निर्देशन

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाबाट पारित निजामती सेवा विधेयकमा समावेश कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको हेरफेर नियतवश हो कि त्रुटिवश भन्नेबारे छानबिन गरेर सत्य पत्ता लगाइने बताएका छन् ।

मंगलबार दिउँसो पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले उक्त प्रकरणबारे सचिवालयलाई रेकर्ड खोज्न र आवश्यक जानकारी संकलन गर्न निर्देशन दिइसकेको बताए ।

‘नियतवश कुनै विषय लुकाएर वा झुक्याएर गरिएको भए त्यो गम्भीर हुन्छ । राजनीति र कानुन निर्माणमा यस्तो हुन हुँदैन,’ घिमिरेले भने ।

निजामती सेवा विधेयकमा अवकाश वा राजीनामा दिएको कर्मचारीलाई दुई वर्षसम्म संवैधानिक निकाय, आयोग वा अन्य पदमा नियुक्त नगर्ने ‘कुलिङ पिरियड’को व्यवस्था थियो ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट सहमतिसाथ पास भएको यो व्यवस्था विधेयक पारित गर्दा हेरफेर गरिएको तथ्य उजागर गरेको थियो ।

प्रकाशित मिति : २०८२ असार १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस