नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा टेलिफोन सेवा अवरुद्ध

काठमाडौँ । त्रिभुवन विमानस्थलको आन्तरिकतर्फको ल्यान्डलाइन टेलिफोनमा समस्या आएको छ । नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि मंगलबार साँझदेखि आन्तरिकतर्फको एयरलाइन्सहरूको टेलिफोनमा समस्या आएको नेपाल टेलिकमका सह–प्रवक्ता नविन कुमार मिश्रले जानकारी दिए ।

विभिन्न एयरलाइन्सको त्रिभुवन विमानस्थलको आन्तरिक विमानका सेवा दिने ल्यान्डलाइन नम्बरमा सम्पर्क फोन लाग्ने तर उता फोन नआउने समस्या देखिएको हो । कुनै पनि आन्तरिक एयरलाइन्सको नम्बर कल लागिरहेको छैन ।

बुधबार बिहान बुद्ध एयरले एक सूचना जारी गर्दै काठमाडौंस्थित आन्तरिक विमानस्थलमा टेलिफोनहरू अवरुद्ध रहेको जानकारी गराएको छ । यति एयरलाइन्सले पनि आफ्ना ग्राहकका लागि सम्पर्क नम्बर छुट्टाएको छ ।

समस्या समाधानका लागि बुधबार बिहानदेखि प्राविधिक खटिएको टेलिकमका सह–प्रवक्ता मिश्रलेब जानकारी दिए । यता टेलिफोन अवरुद्ध भएको विषयमा भने त्रिभुवन विमानस्थल नै बेखबर देखिएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला र प्रवक्ता रिन्जी शेर्पाले यस विषयमा जानकारी नभएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बुधवार
प्रतिक्रिया दिनुहोस