काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई आम चुनावमा विजय हासिल गरेकोमा बधाई दिएका छन् ।
प्रधानमन्त्री कार्नीले ट्रम्पले आफुलाई बधाई दिएको जानकारी दिएका हुन् । कुराकानीका क्रममा दुवै नेताहरू निकट भविष्यमा भेट्न सहमत भएको बताइएको छ ।
दुई नेताहरूले क्यानडा र संयुक्त राज्य अमेरिकाले आफ्नो पारस्परिक हितका लागि स्वतन्त्र, सार्वभौम राष्ट्रहरूको रूपमा मिलेर काम गर्नेमा सहमति जनाएको मिडिया रिपोर्टमा उल्लेख छ ।
क्यानडामा सोमबार आम चुनावको लागि मतदान भएको थियो । यस चुनावमा कार्नीको नेतृत्वमा क्यानडाको लिबरल पार्टीले जित हासिल गरेको छ । लिबरल पार्टी आवश्यक बहुमत भन्दा ३ सिट कम जितेर सबै भन्दा ठुलो दल बनेको छ ।
आफ्नो पार्टीको जित लगत्तै, कार्नीले ट्रम्पलाई निशाना बनाएका थिए । उनले भनेका थिए– ‘राष्ट्रपति ट्रम्प हामीलाई तोड्न खोजिरहेका छन् ताकि अमेरिकाले हामीमाथि आफ्नो प्रभुत्व स्थापित गर्न सकोस्, यो कहिल्यै हुनेछैन।’
ट्रम्पले क्यानडालाई व्यापार युद्धको धम्की निरन्तर दिइरहेका छन् र क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने कुरा पनि पटक पटक गरिरहेका छन् ।


