काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं टावरको नक्सापास प्रक्रियामा अर्बौको नीतिगत भ्रष्टाचार भएको खुलासा गरेका छन्। आज (बिहीबार) सामाजिक सञ्जालमार्फत उनले यो प्रकरणले महानगरलाई एक अर्ब बढी आर्थिक क्षति हुने र ठेकेदारलाई अर्बौको फाइदा हुने तथ्य सार्वजनिक गरेका हुन् ।
मेयर शाहका अनुसार, २०७३ मा १२ तलासम्मको स्वीकृति दिँदा तत्कालीन महानगर नेतृत्वले न्यून आर्थिक लाभ हुने गरी सम्झौता गरेको थियो । सम्झौताअनुसार चौथो वर्षसम्म वार्षिक ९८.३३ लाख र ३०औं वर्षमा ३.९० करोड रुपैयाँ मात्र महानगरले प्राप्त गर्ने उल्लेख छ । तर, १२ तलालाई १९ तला बनाउँदा थप ७ तलाको क्षेत्रफल १.२८ लाख वर्गफुट हुन्छ । जसबाट वार्षिक २३ करोड बढी भाडा आउनुपर्ने उनको दाबी छ ।
‘३० वर्षमा प्रतिवर्गफुट भाडा ६७० रुपैयाँ पुग्छ, जसबाट थप ७ तलाले मात्रै एक अर्बभन्दा बढी आम्दानी गर्नुपर्ने हो,’ उनले भने, ‘तर सम्झौताअनुसार महानगरले ३ करोड मात्र पाउँछ, जसले ठेकेदारलाई अर्बौ फाइदा हुन्छ ।’ शाहले भवन निर्माणमा धेरै अनियमितता र अवैधानिक काम भएको पनि बताए । उनका अनुसार, काठमाडौं उपत्यका विकास प्राधिकरणले २०७२ मा १२ तलाभन्दा माथि नजाने गरी अनुमति दिएको थियो ।
तर, १९ तला बनाउँदा प्राधिकरणको राय र वातावरणीय प्रभाव मूल्याङ्कन नलिई नक्सापास गरिएको छ । ‘स्ट्रक्चरल इन्जिनियरको हैसियतले मैले हेर्दा ल्द्यऋ १०५ः२०२० मापदण्डअनुसार १९ तलाको डिजाइनमा ७० प्रतिशत भन्दा बढी column failहुन्छ,’ उनले भनेका छन् । उनले नक्सापास प्रक्रियामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले गम्भीर त्रुटि गरेको आरोप लगाएका छन् । ‘आधिकारिक भ्द्यएक् प्रणाली बिना, विभागीय प्रमुखलाई जानकारी नदिई गुरागाईले हाजिर भएको दोस्रो दिनमै नक्सापास गरे,’ शाहले भने, ‘यो नीतिगत भ्रष्टाचारको अंश हो ।’
उनले गुरागाईलाई सरकारले विशेष ‘म्यान्डेट’ दिएर पठाएको हुन सक्ने आशंका पनि व्यक्त गरेका छन् । मेयर शाहले यो प्रकरणमा छानबिनका लागि सम्बन्धित निकायलाई सहयोग गर्न तयार रहेको बताए । ‘महानगरको आधिकारिक प्रणालीमा अहिलेसम्म नक्सापास भएको छैन, यो कागजलाई मान्यता दिँदैनौँ,’ उनले भने, ‘हिल्टनको नक्सापास पनि गुरागाईले त्यही दिन गरेको रहेछ, यसको पनि छानबिन हुँदैछ ।’ उनले अनियमितता देख्ने जोसुकैलाई महानगरमा सूचना दिन आह्वान गर्दै परिचय गोप्य राख्ने प्रतिबद्धता जनाए । लोकतन्त्र दिवसको अवसरमा शाहले भ्रष्टाचाररहित समाजको शुभकामना व्यक्त गरेका छन् ।


