तुलसीपुर । लुम्बिनी प्रदेशमा गत दुई महिनाको तथ्याङ्क हेर्दा चैत महिनामा सवारी दुर्घटना घटेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार गत फागुन महिनामा मात्र ४२४ वटा सवारी दुर्घटना भएका थिए, भने चैत महिनामा ४०२ वटा दुर्घटना घटेका छन् । कार्यालयले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दान बहादुर कार्कीका अनुसार फागुन महिनामा सवारी दुर्घटनामा परी ३९ जनाको मृत्यु हुँदा ६९८ जना घाइते भएका थिए । यस्तै चैत महिनामा ३६ जनाको मृत्यु हुँदा ७४५ जना घाइते भएको उनले बताए ।
प्रदेशका १२ जिल्ला मध्य सबैभन्दा बढि रूपन्देहीमा र सबैभन्दा कम रुकुम पूर्वमा भएको समेत उनले बताए । उनका अनुसार रूपन्देहीमा गत फागुनमा ९८ र चैतमा ९२ वटा वटा सवारी दुर्घटना भएका थिए, भने फागुनमा १५ र चैतमा ११ जनाको मृत्यु भएको छ । यस्तै बाँकेमा फागुन र चैतमा ७१ र ७१ वटा भएका थिए, भने फागुनमा ६, चैतमा ४ गरी १० जनाको मृत्यु भएको थियो । बर्दियामा फागुनमा ६२ चैतमा ६६ सवारी दुर्घटना हुँदा फागुनमा २ जनाको मृत्यु भएको थियो । नवलपरासी पश्चिममा फागुनमा ५४ वटा हुँदा चैतमा ३७ वटा भएका थिए, भने फागुन र चैतमा गरी ४ जनाको मृत्यु भएको प्रमुख डिआइजी कार्कीले बताए ।
यस्तै कपिलवस्तुमा फागुनमा सवारी दुर्घटना ५३, मृत्यु ४ जना, चैतमा ४६ वटा, मृत्यु ४ जना, दाङमा फागुनमा ३७, चैतमा ३६ सवारी दुर्घटना हुँदा फागुनमा ६ र चैतमा ४ जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै पाल्पामा फागुनमा १, चैतमा १३, रोल्पामा फागुनमा ११ वटा, चैतमा १०, गुल्मीमा फागुनमा ८ वटा, चैतमा ११, अर्घाखाँचीमा फागुनमा ७ वटा, चैतमा १३, प्यूठानमा फागुन र चैतमा ५ र ५ वटा र रुकुम पूर्वमा फागुनमा ३ र चैतमा २ वटा सवारी दुर्घटना भएको उनले बताए ।


