कांग्रेसका प्रमुख सचेतक घिमिरेले मागे संसद्‌मा माफी

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्‌मा आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा घिमिरेले चैत ३ गते संसद्‌मा दिएको अभिव्यक्ति व्यक्तिगत धारणा भएको भन्दै माफी मागको हुन् ।

‘यही चैत ३ गते विशेष समयमा मैले सदनमा राखेको धारणा विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणा हो । यो धारणा नेपाली कांग्रेस पार्टीको र संसदीय दलको आधिकारिक धारणा होइन । यी विचारले सम्मानित सदनका सदस्यहरू र अन्य जनसमुदायमा समेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै उहाँहरूसँग क्षमायाचाना गर्न चाहन्छु,’ उनले भने ।

उनले गत आइतबारको बैठकमा नेपालको पर्यटन विकासका लागि यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए । उनको अभिव्यक्तिप्रति संसद्‌मा पनि विरोध भएको थियो । पार्टीमा पनि आलोचना भएपछि उनले माफी मागेका हुन् ।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस